नेभिगेशन
शनिबार, कात्तिक १४, २०८३

देशभरको मौसम खुल्न थाल्यो

काठमाण्डौ - अस्ति बिहीबार रातिदेखि लगातार परेको वर्षा रोकिएसँगै देशभरको मौसम खुल्न थालेको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा रोकिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र मधेस प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा सामान्यदेखि आंशिक आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार रातिसम्ममा धेरैजसो ठाउँबाट वर्षा गराउने प्रणाली बाहिरिनेछ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मनाङको ताल मौसम मापन केन्द्रमा १२४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । मौसमविद् रोजन लामिछानेकाअनुसार बङ्गालको खाडीमा बनेको चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय प्रणाली कमजोर भएकाले धेरैजसो ठाउँमा आजै वर्षा रोकिनेछ ।

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार कञ्चनजङ्घा, मकालु, सगरमाथा, चोयु, गौरीशङ्कर, लाङटाङ, गणेश, मनासलु, अन्नपूर्ण र धौलागिरि–गुर्जा हिमाली क्षेत्रका दक्षिणी मोहडाका उपत्यका तथा खोँचहरूमा भने भोलि बिहानसम्मै वर्षा र हिमपातको सम्भावना कायम छ ।

यसैगरी, गण्डकी तथा कोशी जलाधार क्षेत्रका ससाना नदीहरूमा बाढीको जोखिम भोलि बिहानसम्मै रहने भएकाले विशेष सतर्कता अपनाउन मौसमविदले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेका छन् ।  

प्रकाशित मिति:
थप समाज