नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

डोल्पामा हिमपात हुँदा फसेका भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

काठमाण्डौ – डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा ठूलो हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

हिजो दुई महिला र चार पुरुषसहित ६ जना भारतीय पर्यटक धोबाट शे–फोक्सुन्डो तालतर्फ फर्किने क्रममा दुवैतर्फबाट हिमपात भएपछि उच्च हिमाली क्षेत्रको हिउँमा फसेका हुन् ।

उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८ दानीगढ आसपास रोकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

ढकालका अनुसार स्थानीयवासीन्दाले हिमपातका कारण हिमाल पार गर्न कठिन हुने भन्दै पर्यटकलाई सचेत गराएका थिए । तर, स्थानीयको आग्रह बेवास्ता गर्दै उनीहरू जोखिमपूर्ण बाटोतर्फ अघि बढेका थिए । उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी हमालले जानकारी दिनुभयो ।

डोल्पाका शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा लगातार हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा पनि भएको छ ।

प्रतिकूल मौसमको पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले कात्तिक १२ गतेदेखि नै माथिल्लो डोल्पाका जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति:
थप समाज