नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

मेरो इच्छा नै कानून हो भन्ने सरकारको प्रवृत्तिले हद नाघ्याे : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको गैरकानूनी कामले हद नाघेको आरोप लगाउनुभएको छ ।

ललितपुरकाे सानेपामा रहेकाे पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताउनुभयो । प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उहाँको भनाइ छ ।

कांग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय सङ्कटका बेला सरकारसँगै उभिने गरे पनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने थापाले उल्लेख गर्नुभयाे । दबावपछि पक्राउ परेका पत्रकारहरू छुटे पनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सीमित गर्न नहुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र र नागरिकको अधिकारको सन्दर्भमा सरकारले सीमा नाघ्छ भने त्यो बेलामा हामी चुप बस्दैनौँ । हामी प्रश्न गर्छाैँ । हामी उपयुक्त नीतिको पैरवी गर्छाैँ । आवश्यक पर्‍याे भने प्रतिवाद र प्रतिरोध पनि गर्छाैँ । लाेकतन्त्रमा सरकारसँग अधिकार हुन्छ, हामी त्यसलाई मान्छौँ । तर सरकारको अधिकार कहाँबाट उत्पन्न हुन्छ ? कानूनबाट उत्पन्न हुन्छ । तर सरकारमा बसेकाहरूलाई मेरो इच्छा नै कानून हो भन्ने लाग्न थाल्छ भने त्यसपछि समस्या शुरू हुन्छ । अहिले भएको त्यही नै हो । यो अलिअलि भइरहेको थियो, यसलाई हामीले कहिलेकाहीँ हेर्‍याैँ, सुन्यौँ, सामान्यीकरण गर्‍याैँ । यसले अब हद नाघेको छ ।’

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति