नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र बिचौलिया प्रकरण : संसदीय विशेष समिति गठन गर्न कांग्रेसको माग

काठमाण्डाै – नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको निष्पक्ष छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले पक्राउ पुर्जीविना समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वेच्छाचारिता र विधिको शासन विपरीत भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि निर्णय सुनाउँदै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका विवादित गतिविधिले संवैधानिक संस्था र लोकतान्त्रिक मूल्यमाथि प्रश्न उठाएको बताउनुभयो । समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाव रहेकोले यसको जवाफ सरकारले दिनुपर्ने उहाँको भनाइ छ ।

कांग्रेसले यस विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूको बैठकसमेत बोलाएको छ । कार्यकारी प्रमुख, न्यायालय र प्रहरीसमेत बिचौलिया प्रकरणमा मुछिएकाले निष्पक्ष छानबिनका लागि तत्काल संसद् बैठक आह्वान गर्नुपर्ने कांग्रेसको जोड छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले सरकार आफैँ बिचौलिया प्रकरणमा जोडिएकाले सरकार एक्लैले निष्पक्ष छानबिन गर्न नसक्ने बताउनुभयो । उहाँले शाहीकालमा भन्दा धेरै प्रेसमाथि हस्तक्षेप भएको आरोपसमेत लगाउनुभयो ।

विवादित न्यायाधीशमाथि महाभियोग लगाउने विषयमा भने संसद्को ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले लिने निर्णय र प्रक्रियालाई हेरेर कांग्रेसले आफ्नो दृष्टिकोण तय गर्ने नेता आङ्देम्बेले जानकारी दिनुभयो ।

कांग्रेसले बैठकमा भोटेकोशी र रसुवाका विपत्तिसम्बन्धी संसदीय समितिको काम तथा ७७ वटै जिल्लाका बाढी पहिरो पीडितका समस्याबारे सांसदहरूले दिएको प्रतिवेदनमाथि समीक्षा पनि गरेको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति