नेभिगेशन
मंगलबार, कात्तिक २४, २०८३

काठे पुल निर्माण गरेपछि रसुवाको स्याफ्रुबेँसीमा आवतजावत सहज

काठमाण्डौ– रसुवाको स्याफ्रुबेँसीमा काठे पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । भदौ १० मा भोटेकोशीको बाढीले सडक सञ्जाल विच्छेद गराएको अवस्थामा अस्थायी रूपमा निर्माण गरिएको काठेपुल गएको कात्तिक १४ गते नदीको बहाव बढ्दा बगाएको थियो ।

गोसाईंकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा पालिका, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त प्रयासमा काठे पुल पुनर्निर्माण गरिएसँगै आवतजावत सहज भएको हो ।

नेपाल रेडक्रस सोसाइटी, गोसाईंकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकाका वडा प्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान एवं सक्रिय सहभागितामा पुल निर्माण गरिएको हो ।

यसअघि गएको भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडक खण्ड बगाएपछि रसुवाको उत्तरी क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।

लामो समयसम्म यातायात र पैदल मार्गसमेत अवरुद्ध हुँदा गोसाईंकुण्ड गाउँपालिका वडा १ देखि ५ र आमाछोदिङ्मो गाउँपालिका वडा १ देखि ५ सम्मका नागरिकले सास्ती खेप्दै आएका थिए ।

काठेपुल बनेपछि दुवै गाउँपालिकाका बासिन्दा तथा पैदल आवतजावत गर्नेहरूका लागि राहत भएको आमाछोदिङ्मो गाउँपालिका वडा–५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)ले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
थप समाज