नेभिगेशन
बुधबार, मंसिर २, २०८३

‘ह्युमन’ बन्याे क्याम्ब्रिज डिक्शनरीकाे वर्ष शब्द

कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ को तीव्र विकास र दैनिक जीवनमा यसको बढ्दो प्रयोगबीच क्याम्ब्रिज डिक्शनरीले सन् २०२६ को वर्ष शब्दका रूपमा ‘ह्युमन’ अर्थात् मानवलाई चयन गरेको छ ।

डिक्शनरीमा यसको अर्थ मानिसमा पाइने गुण, कमजोरी र भावनाहरूसँग सम्बन्धित छ जसले मानिसलाई भगवान्, जनावर र मेशिनभन्दा फरक बनाउँछ ।

क्याम्ब्रिज डिक्शनरीका शब्द विशेषज्ञ कोलिन म्याकिन्टोसका अनुसार एआईका कारण मानिसले आफ्नो मानव अस्तित्वबारे कुरा गर्ने तरिकामै परिवर्तन ल्याइरहेको छ । मानिसहरू आफ्ना विचार, काम र निर्णयका लागि क्रमशः मेशिनमा निर्भर हुन थालेपछि यसले मानवीय क्षमता र पहिचानमा पार्न सक्ने प्रभावबारे प्रश्न उठ्न थालेको उहाँले बताउनुभएको छ ।

सामान्यतया वर्ष शब्द चयन गर्दा नयाँ शब्द, जनबोलीमा लोकप्रिय बनेका शब्द वा समयसँगै अर्थ र प्रयोगमा परिवर्तन आएका पुराना शब्दलाई प्राथमिकता दिइन्छ । यस पटक पुरानै शब्द ‘ह्युमन’ छनोट गर्नुले एआईको युगमा मानिस हुनुको अर्थ र मानवीय विशेषताको महत्त्वमाथि नयाँ बहस शुरू भएको सङ्केत गर्छ ।

‘ह्युमन’ लाई वर्ष शब्द चयन गर्नु एआई प्रविधिको विरोध मात्र नभई प्रविधिको तीव्र विकासबीच मानवीय भावना, सिर्जनशीलता, विवेक र पहिचानको महत्त्वलाई पुनः स्थापित गर्ने प्रयासका रूपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला वर्षहरूमा विभिन्न शब्दकोशले एआईको विकास र त्यसको प्रभावसँग सम्बन्धित शब्दलाई वर्ष शब्दका रूपमा चयन गर्दै आएका छन् ।

सन् २०२३ मा कोलिन्स डिक्शनरीले ‘एआई’ लाई वर्ष शब्द घोषणा गरेको थियो । त्यही वर्ष क्याम्ब्रिज डिक्शनरीले ‘ह्यालुसिनेट’ शब्द चयन गरेको थियो । एआईले गलत वा काल्पनिक जानकारीलाई तथ्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिलाई यो शब्दले जनाउँछ ।

प्रकाशित मिति:
थप विश्व