नेभिगेशन
बिहीबार, मंसिर ३, २०८३

मलेशिया जाने श्रमिक ठगी प्रकरणमा पूर्व मुख्यसचिव अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाण्डाै – मलेशियामा रोजगारीका लागि जाने श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

मलेशिया जाने श्रमिकहरूबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै ठगी र त्यसको व्यवस्थापनमा संलग्नता देखिएपछि जिल्ला अदालतले पूर्व मुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा मलेशिया जाने श्रमिकहरूलाई आर्थिक रूपमा शोषण गर्ने गिरोहसँग अर्यालको समेत मिलेमतो रहेको खुल्न आएको छ ।

यही प्रकरणमा सीआईबीले हिजो पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी ६ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले यस ठगी धन्दामा संलग्न मुख्य नाइके र उनीहरूलाई संरक्षण दिने सरकारी संयन्त्रका अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जनाएको छ ।

उच्चपदस्थ पूर्वकर्मचारी अर्यालविरुद्ध नै पक्राउ पुर्जी जारी भएपछि वैदेशिक रोजगारीको नाममा भएको यो ठगी प्रकरण थप गम्भीर बनेको छ ।

प्रहरीका अनुसार मलेशिया सरकार र नेपाल सरकारबीच भएको समझदारी विपरीत गैरकानूनी रूपमा सङ्कलन गरेको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेशिया पठाउने निर्णय भएको थियो । सम्झौताको दायरा र कानूनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा उनीहरूको संलग्नता रहेको प्रहरीको आरोप छ ।

श्रमिकलाई सङ्गठित रूपमा ठगी गर्ने कार्यमा मौन बसेको, कानूनी उपचार नगरेको तथा गैरकानूनी रूपमा सङ्कलित रकम मलेशिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज