नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

पशु ढुवानीमा चरम लापर्बाही

काठमाण्डाै – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाण्डाै ल्याइने पशुपक्षीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिई, क्षमताभन्दा धेरै सङ्ख्यामा कोचेर तथा उपयुक्त गाडी प्रयोग नगरी पशुपक्षी ओसारपसार हुने गरेकाे पाइएको हो ।

नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्वीर तथा श्रव्यदृश्य सङ्कलनका क्रममा विशेषगरी राँगाभैँसी, बाख्रा र कुखुराको ढुवानीमा पशु कल्याणसम्बन्धी मापदण्डको उल्लङ्घन हुने गरेको पाइएको हो ।

समाजले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सबैभन्दा टाढा सुदूरपश्चिमको कैलाली, टीकापुर, अत्तरियालगायत क्षेत्रबाट काठमाण्डाैसम्म भैँसी ल्याउँदा ४८ देखि ७२ घण्टासम्म लाग्ने जनाएको छ । यस अवधिमा कतिपय पशुलाई पानी तथा खाना उपलब्ध नगराइने गरेको तथ्य सार्वजनिक भएकाे हाे ।

लामो दूरीको यात्रामा पशुलाई पानी खुवाउने, खाना दिने र आराम गराउने व्यवस्था हुनुपर्ने हो । तर एउटै ट्रकमा क्षमताभन्दा धेरै पशु कोचेर ल्याउने गरिएको छ । यस क्रममा उनीहरूलाई चोटपटक लाग्ने, घाउ हुने र शारीरिक तथा मानसिक पीडा भोग्नुपर्ने अवस्था छ, समाजका निर्देशक हरि जोशीले भन्नुभयो ।

उहाँका अनुसार राँगाभैँसीलाई विशेष प्रयोजनका लागि तयार गरिएका ढुवानी गाडीको सट्टा तरकारी तथा अन्य सामान बोक्ने ट्रकमा ओसारपसार गर्ने गरिएको छ । कतिपय अवस्थामा साना र ठूला राँगाभैँसीलाई एउटै ठाउँमा राख्ने तथा पर्याप्त स्थान नदिई बाँधेर ल्याउने गरिएकाले उनीहरूलाई थप असहज हुने गरेको उहाँको भनाइ छ ।

कुखुरा तथा बाख्राको ढुवानीमा पनि यस्तै समस्या देखिएको समाजका निर्देशक जोशीले बताउनुभयो । समाजले पशुपक्षीमाथि हुने यस्ता व्यवहार न्यूनीकरण गर्न जनचेतनामूलक केन्द्रित अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ । ढुवानीका क्रममा देखिएका समस्या उजागर गर्न फोटो तथा भिडियो सङ्कलन गरी सार्वजनिक गर्ने अभियान शुरू गरिएको उहाँले जानकारी दिनुभयाे ।

निर्देशक जोशीले पशुपक्षीको व्यापार तथा मासु व्यवसायको विरोध नभई व्यवसाय सञ्चालनका क्रममा जनावरमाथि हुने क्रुर व्यवहार रोक्नुपर्नेमा जोड दिनुभयो । पशु पनि जीवित प्राणी हुन् । उनीहरूलाई पनि भोक, प्यास, डर र पीडा हुन्छ । त्यसैले सुरक्षित ढुवानीको व्यवस्था गर्नु राज्य र सबै सरोकार भएका निकायको दायित्व हो, उहाँले भन्नुभयो ।

पशु ढुवानीका लागि सरकारले मापदण्ड बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समाजका निर्देशक जोशीको भनाइ छ । पशु ढुवानी मापदण्डलाई समयानुकूल परिमार्जन गर्ने विषयमा सरकारी निकायले चासो देखाए पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने प्रगति हुन नसकेको उहाँले बताउनुभयो ।

निर्देशक जोशीले पशु ढुवानीलाई व्यवस्थित बनाउन विशेष प्रकारका गाडी प्रयोग गर्नुपर्ने र त्यस्ता गाडी खरिद तथा सञ्चालनमा व्यवसायीलाई सरकारले सहुलियत र राजस्व छुट दिनुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै लामो दूरीमा पशु ओसारपसार गर्दा बीचबीचमा विश्रामस्थल (रेस्टिङ सेन्टर) स्थापना गर्नुपर्ने उहाँको भनाइ छ । त्यस्ता केन्द्रमा पशुलाई पानी तथा दानापानी खुवाउने, आराम गराउने र आवश्यक उपचार गर्ने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

काठमाण्डाैमा पशु ढुवानीका कारण उत्पन्न हुने फोहोर तथा सरसफाइको समस्या न्यूनीकरण गर्न चितवन आसपासमै आधुनिक तथा व्यवस्थित वधशाला स्थापना गर्नु अर्को विकल्प हुनसक्ने जोशीले उल्लेख गर्नुभयो ।

समाजका अनुसार काठमाण्डाैमा राँगाभैँसी तथा अन्य पशुपक्षी कैलाली, टीकापुर, अत्तरिया, नेपालगञ्ज, बर्दिया, नवलपरासी, बारा, जनकपुर, विराटनगरलगायत क्षेत्रबाट ल्याइने गरेका छन् । पशु ढुवानीको अनुगमन प्रणालीसमेत प्रभावकारी नभएको समाजको भनाइ छ ।

विभिन्न ठाउँमा रहेका क्वारेन्टाइन कार्यालयले पशुको स्वास्थ्य प्रमाणपत्रका आधारमा ढुवानी प्रक्रिया अघि बढाउने गरे पनि वास्तविक अवस्थामा पशुलाई कस्तो तरिकाले ओसारपसार गरिएको छ भन्ने विषयमा पर्याप्त स्थलगत अनुगमन हुन नसकेको जोशीले बताउनुभयो ।

उहाँले पशु सेवा विभाग, क्वारेन्टाइन कार्यालय, ट्राफिक प्रहरी, पशु खरिद बिक्री व्यवसायी तथा ढुवानी व्यवसायीबीच समन्वय र सहकार्य बढाएर पशु ढुवानीसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

प्रकाशित मिति:
थप समाज