नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणले दुई देशबीचको ऐतिहासिक, बहुआयामिक तथा नागरिकस्तरको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक विकास र समृद्धिका क्षेत्रमा परिणाममुखी सहकार्यको आधार तयार गरेको बताउनुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हिजो बेलुका प्रधानमन्त्रीको भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण निर्माण गरेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गर्नुभएको छ । यो दस्तावेजले आर्थिक तथा विकास साझेदारी, भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा सहकार्य, जलवायु उत्थानशीलता, विपद् जोखिम न्यूनीकरण, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनलगायत क्षेत्रमा सहकार्य अघि बढाउने आधार तयार गरेको मन्त्री खनालले बताउनुभएको छ ।

उहाँअनुसार दस्तावेजले नेपाल–भारत सम्बन्धलाई समयानुकूल बनाउन पुराना सन्धि, सम्झौता र सहमतिहरूको पुनरावलोकन तथा आवश्यकताअनुसार परिमार्जन गर्ने बाटोसमेत खुला गरेको छ । सन् १९५० को सन्धिलगायत पुराना सन्धिहरूको पुनरावलोकनका विषयमा पनि यसले नयाँ सम्भावना सिर्जना गरेको उहाँले बताउनुभयो ।

भ्रमणका क्रममा नेपालको तेस्रो देशसँगको व्यापार सहजीकरणका लागि भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न पहुँच प्रदान गर्ने सहमति भएको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन व्यवस्थामा थप सहजता आउने अपेक्षा गरिएको छ ।

जनकपुर–अयोध्याबीच रेलसेवाको दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गर्नुभयो । यसले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । हवाई सम्पर्क विस्तारका लागि अहिले एकतर्फी सञ्चालनमा रहेको बी–३४५ काठमाण्डौ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ ।

सीमापार पूर्वाधार विकासका क्रममा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकी (आइसीपी) निर्माणको शिलान्यास भएको छ । यी पूर्वाधारले सीमापार आवागमन, व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

ऊर्जा सहकार्यतर्फ इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको मन्त्री खनाले जानकारी दिनुभयो । यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ । भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ भने झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ ।

यसबाट नेपालको ऊर्जा आपूर्ति तथा सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ । यसैगरी नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भको मर्मतसम्भारमा भएको प्रगतिलाई ध्यानमा राख्दै विद्यमान सीमासम्बन्धी विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ ।

प्रकाशित मिति:
थप राजनीति