नेभिगेशन
बुधबार, मंसिर ९, २०८३

हिमताल विस्फोटको जोखिम कम गर्न साढे ७ अर्बको ‘सञ्जीवनी’ परियोजना

काठमाण्डाै – सरकारले उच्च जोखिममा रहेका चार वटा हिमतालको विस्फोट जोखिम न्यूनीकरण गर्न ५ करोड अमेरिकी डलर अर्थात् झन्डै ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बरालका अनुसार सोलुखुम्बुको होङ्गु–२ र लुम्दिङ छोल, सङ्खुवासभाको तल्लो वरुण तथा मनाङको ठुलागी हिमतालको पानीको सतह घटाउने लक्ष्य छ ।

परियोजनाको प्रस्तावअनुसार होङ्गु–२ को सतह १ मिटर र बाँकी तीन हिमतालको ३–३ मिटर घटाइनेछ ।

सात वर्ष अवधिको यस परियोजनाका लागि ग्रीन क्लाइमेट फन्डबाट ३ करोड ६१ लाख ६० हजार अमेरिकी डलर अर्थात् झन्डै ५ अर्ब ३७ करोड रुपैयाँ अनुदान प्राप्त भएको छ । यस्तै नेपाल सरकार र यूएनडीपीको झन्डै २ अर्ब ४ करोड रुपैयाँ सहवित्तीय योगदान रहनेछ ।

परियोजनाले हिमतालको निगरानी, पूर्वसूचना प्रणाली विकासबाट तल्लो तटीय क्षेत्रका झन्डै २४ लाख बासिन्दालाई प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य राखेको छ ।

यसैबीच ग्रीन क्लाइमेट फन्डका प्रतिनिधि डा. वाफोन फकरुद्दिनले नेपालमा पहिचान भएका २१ जोखिमयुक्त हिमतालमध्ये बाँकी १७ वटामा पनि लगानी विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज