नेभिगेशन

वैदेशिक रोजगारीमा कमाएको रकम बचत गर्ने राम्रो माध्यम हो वैदेशिक रोजगार बचत पत्र

वैदेशिक रोजगार बचत पत्र आफूले वैदेशिक रोजगारीमा रहेर कमाएको रकम बचत गर्ने एउटा अत्यन्त राम्रो माध्यम हो ।

यस वर्ष जारी भएको बचत पत्रमा अघिल्ला वर्षहरूको तुलनामा ब्याजदर पनि बढी छ र अनलाइनबाट पनि खरिद गर्न सकिन्छ । आफूले वैदेशिक रोजगारीमा रहँदा कमाएको बचतलाई राष्ट्र निर्माणमा तपाईँले पनि बचत पत्रमा लगानी गरेर लगाउन सक्नुहुन्छ । 

वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूलाई नै लक्षित गर्दै करिब १० वर्षदेखि राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आइरहेको छ । 

नेपाल सरकारले आफ्नो आन्तरिक ऋण उठाउने क्रम हुन्छ । जसमा विभिन्न प्रकारका ऋणपत्रहरू जारी गर्ने गरिन्छ । त्यो मध्येको एउटा वैदेशिक रोजगार बचतपत्र पनि हो ।

यसको मुख्य उद्देश्य भनेको जो नेपालभन्दा बाहिरका देशमा रोजगारी गरिरहनुभएको छ र त्यहाँ दुःख गरेर बचत गरेको रकमलाई उहाँहरूले जोखिम रहित तरिकाले उच्च प्रतिफलका साथ लगानी गर्न पाउनुहुन्छ र त्यो रकम राष्ट्र निर्माणमा लगानी हुन्छ । 

अहिलेको सन्दर्भमा यसमा अलिक बढी रुचि देखिएको छ । वैदेशिक रोजगार बचत पत्रको बारेमा चासो र जिज्ञासा पनि बढी देखिएको छ । यस वर्ष वैदेशिक रोजगार बचत पत्रको ब्याजदर साढे १२ प्रतिशत छ । यो भनेको बैङ्कहरूले निक्षेपमा दिइरहेको ब्याजभन्दा बढी हो ।

त्यस कारण पनि यसमा वैदेशिक रोजगारीमा रहेकाहरूले लगानी गर्नुभयो भने प्रतिफल राम्रो प्राप्त हुन्छ । अहिलेसम्म आएका बचत पत्रहरूमा भन्दा यस वर्ष निर्धारण गरिएको ब्याजदर उच्च छ । 

अर्को कुरा भने यो बचतपत्र सरकारले निष्कासन गरेको बचतपत्र हो । यो कतै डुब्छ कि, कसैले छली गर्छ कि भन्ने आशङ्का हुँदैन । पाँच वर्षपछि उहाँहरूले सहज ढङ्गले आफूले लगानी गरेको पैसा फिर्ता पाउनुहुन्छ ।  हरेक ६ महिनामा ब्याज पाउनुहुन्छ ।

यसमा गरेको लगानी  देशमा हुँदा होस् या विदेशमा हुँदा पनि यदि आफूलाई आवश्यक प¥यो भने बेच्न पनि सकिन्छ । विभिन्न मार्केट मेकरहरु हुनुहुन्छ उहाँहरूमार्फत बचतपत्र बिक्री गर्न सकिन्छ । अहिले वैदेशिक रोजगार बचत पत्रको बारेमा राम्रो प्रचार प्रसार भएको छ । त्यस हिसाबले पनि अहिले यसप्रति आकर्षण बढेको छ । अहिले त ब्याज पनि बढेको छ ।

सामान्य अवस्थामा १२.०५ प्रतिशत ब्याजदर प्राप्त हुँदैन । यसमा धेरै आवेदन आएको छ भन्ने त होइन । तर अहिले जुन हिसाबले यसको बारेमा चासो र जिज्ञासा आइरहेको यसबाट यस खालको बचत पत्रको प्रवर्द्धन गर्न सक्छौँ भन्ने हो । 

अनलाइनबाटै किन्न सकिन्छ

वैदेशिक रोजगार बचतपत्र खरिदका लागि अहिले अनलाइनबाटै सबै प्रक्रिया गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकको वेबसाइटमा गएपछि त्यसमा मनिटरिङ म्यानेजमेन्ट भन्ने छ । मनिटरिङ म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ भने फारम डाउनलोड गरी आवश्यक विवरण भरी आफूलाई पायक पर्ने बैङ्क तथा वित्तीय संस्थामा पनि बुझाउन सकिन्छ । 

यसरी बचतपत्र खरिदका लागि आवेदन दिँदा आफू रहेको देशको भिसाको कपी, राहदानी, कम्पनीमा काम गरेको हो भन्ने प्रमाणका लागि कम्पनीको म्याद ननाघेको परिचयपत्रको कपी र दुई प्रति पासपोर्ट साइजको फोटो पनि आवश्यक पर्छ । 

विदेशबाट नेपालमा पैसा पठाएको प्रमाण र नेपालमै हुनुहुन्छ भने पनि विदेशी मुद्रामा खाता छ भने त्यसको प्रमाण पनि साथमा पेस गर्न पर्छ । 

वैदेशिक रोजगार बचतपत्र आफ्नो परिवारको सदस्यको नाममा र आफ्नो नाममा पनि खरिद गर्न सकिन्छ । परिवारको सदस्यको नाममा किन्ने हो भने परिवारका सदस्यको नागरिकता र नाता प्रमाणितको प्रमाणपत्र पनि आवश्यक पर्छ । नाबालकको हकमा हो भने नाबालकको जन्म दर्ता पनि आवश्यक हुन्छ । यसरी आवश्यक कागजात पु¥याएर निवेदन दिन सकिन्छ । 

अहिले नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ५० करोडको वैदेशिक रोजगार बचतपत्र आह्वान गरेको छ । अहिले जुन हिसाबले यसप्रति जिज्ञासा र चासो बढिरहेको छ यसले अब अर्को वर्ष चाहिँ योभन्दा धेरै रकमको बचतपत्र निष्कासन पनि हुनसक्छ । 

जेठ १८ गतेदेखि खुला भएको बचतपत्र यसपालि आउँदो असार ६ गतेसम्म खरिद गर्न सकिन्छ । 

बचतपत्र खरिद गर्न यति रकम भन्ने छैन । तपाईँले चाहेमा ५० करोड नै पनि राख्न पाउनुहुन्छ । सामान्यतया के हो भन्दा वैदेशिक रोजगारीमा गएका मानिसहरूसँग त्यति ठुलो बचत हुँदैन र भएको सानो सानो बचत वैदेशिक रोजगार बचत पत्रको माध्यमबाट परिचालन गर्न सकियोस् भन्ने हो । भोलि ठुलो रकम यसमा माग भइआयो भने आउँदा वर्षमा राष्ट्र बैंकले ठुलो रकमको बचतपत्र निष्कासन  गर्न पनि सक्छ ।

धितो राखेर ऋण लिन सकिने

यो सरकारले निष्कासन गरेको बचतपत्र हो । सरकारले नागरिकबाट ऋण लिएँ भनेको यो एक किसिमको प्रमाण हो । त्यस कारण जसरी हामीले घरजग्गा धितो राखेर ऋण लिन सक्छौँ त्यसरी नै बचतपत्र धितो राखेर पनि ऋण लिन सकिन्छ ।

घरजग्गा धितो राख्दा धितो मूल्याङ्कनको कुरा आउँछ भने यसमा त प्रस्ट छ । यो यतिको हो धितो भन्ने हुन्छ । बैङ्क तथा वित्तीय संस्थाहरूले शतप्रतिशत कर्जासमेत दिन सक्छन् । कतिपयले केही जोखिम देखेमा त्यही अनुसारको मूल्याङ्कन त होला तर बचतपत्र धितो राखेर कर्जा लिनका लागि पनि बढी सहज हुन्छ । 

(प्रवक्ता भट्टसित कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित । )

प्रकाशित मिति:
थप देश परदेश विशेष