नेभिगेशन

नेपालमा राेजगारीका अवसर छन् तर कतिले खोज्नै जान्दैनन्, कतिसँग सीप नै हुँदैन

अंशु किरण शाही/काठमाण्डाै 

म जागिर खाेजिदिने अनलाइन पाेर्टल मेरो जब डट कम तथा राेजगारी डट कममा कार्यरत छु । गएको जेठ १६ र १७ गते काठमाण्डौमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रांगणमा रोजगार मेला चलेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग तथा रोजगार सेवा केन्द्र एवम् मेरो जवको प्राविधिक सहयोगमा महासंघले मेलाको आयोजना गरेको थियो । मेलामा नेपालका विभिन्न क्षेत्रका ५४ वटा प्रतिष्ठित कम्पनीको सहभागिता थियो । ती कम्पनीले करिब छ सय रोजगारीको अवसर खुला गरेका थिए । म पनि  त्यहाँ सहभागी भएको थिएँ । 

मेलामा 'पार्टटाइम जब' खोज्ने, सेल्स एण्ड मार्केटिङ र आइटी सम्बन्धित काम खोज्ने धेरै भेटिए । यस्तै प्लम्बिङ, इलेक्ट्रिसियन, कुक, वेटर लगायतका काम खोज्ने पनि त्यति नै थिए । जति जना हामीसँग ठोक्किनुभएको थियो, उहाँहरुमध्ये धेरै 'पार्टटाइम जब'को खोजिमा आउनुभएको थियो । जसमा अधिकांश जस्तो विद्यार्थी थिए । अहिले नेपालमा पढाइसँगै काम गर्नुपर्छ भन्ने चेतनाको विकास भएको देखेँ । 

जागिर खोज्न आएकाहरुमध्ये धेरैजसो १८ देखि ३० वर्ष उमेरका थिए । अहिलेसम्म काम नगरेका तर काम गर्न इच्छाएकाहरु धेरै देखिए । मेलामा भेटिएका धेरैले विदेश जाने भन्दा पनि नेपालमै केही गर्न सकिन्छ कि भन्ने सोच बनाएका थिए । यस्तै एक दुई वर्ष नेपालमै काम गरेर विदेश जाने सोच बनाएकाहरु पनि उति नै थिए ।

नेपालमा रोजगारी नभएको होइन । काम गर्न इच्छायो भने बजारमा धेरै जागिर उपलब्ध छन् । तर मैले त्यहाँ देखेअनुसार जागिर खोज्ने तरिका तथा माध्यमकै बारेमा धेरैलाई थाहा नभएको जस्तो लाग्याे । कतिवटा कम्पनीको बारेमा त धेरैलाई थाहा हुँदैन । यस्ता कम्पनी पनि रहेछन् नेपालमा भनेर आश्चर्य मान्नेहरु पनि भेटिए । हाम्रो शिक्षा व्यवस्थामा पनि यस्तो कमजोरी छ जस्तो लाग्छ । विकसित देशहरुमा पढ्दै गर्दा पार्ट टाइम काम गर्नेदेखि कसरी काम खोज्ने लगायतका कुराहरु पाठ्यक्रममै सिकाइएको हुन्छ । तर हाम्रोमा त्यस्तो अभ्यास देखिँदैन । त्यसैले यस्तो रोजगार मेलाले त्यस्ता व्यक्तिहरुलाई सहयोग गरेको छ । रोजगार मेलामा जानुपर्छ । देशमा रोजगारीको अवसर के कस्तो छ भन्ने पनि थाहा हुन्छ । बजारमा कस्तो काम पाइन्छ, त्यो काम कहाँ कसरी खोज्ने, आवेदन कसरी दिने भन्ने लगायत कुराहरुबारे युवावर्गमा जानकारी दिन पनि यो मेला सहयोगी भएको जस्तो मलाई लाग्छ ।

नेपालमा रोजगारीको अवस्था कमजोर त छ । तर रोजगारी हुँदै नभएको पनि होइन । बजारमा धेरै रोजगारी छ तर काम गर्न चाहनेहरुले त्यस्ता रोजगारीका अवसरसम्म पुग्न नसकिरहेको अवस्था रहेछ । यस्तै सीपको पनि अभाव भएको देखियो । ब्याचलर डिग्री साथमा भए पनि सीपहरु नभएका धेरै थिए । कतिपयले सीप नहुँदा काम पाइन गाह्रो पनि भयो । यस्तो अवस्थामा यस्ता रोजगार मेलाहरुले निकै सहयोग गरेको छ । उनीहरुलाई सीपको महत्व पनि जगाएको छ । रोजगारदाता, रोजगारीका अवसर र काम गर्न खोज्नेहरुलाई भेटाएको छ ।

अहिले बजारमा जागिर खोजिदिने भन्दै विज्ञापनहरु छ्यापछ्याप्ती देखिन्छन् । तर तीमध्ये धेरैजसो विश्वसनीय हुँदैनन् । ठग्ने मनसायले खोलेका हुन्छन् । काम दिलाउँछु भन्दै आवेदन भर्न लगाएर पैसा लिने, फेरि काम लगाइदिएपछि महिनाको तलबबाट काट्ने गरेका छन् । कसैले त आवेदन भराएर कामै नखोजिदिने  पनि रहेछन् । जुन नेपाल सरकार तथा आईएलओको नियम विपरीत हुन्छ । यसले गर्दा मापदण्ड पूरा गरेर चलिरहेका जब सिकर पोर्टलहरुको पनि बदनाम भएको छ । यसमा सम्बन्धित निकायको ध्यान जानुपर्छ । हामीले यसबारे आवाज उठाइरहेका छौँ । त्यसैले एकदमै भरपर्दो जब पोर्टलमार्फत मात्र काम खोज्नुपर्छ ।

अंशु किरण शाही राेजगारी डट कम र मेराे जब डट कममा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति: