‘१२ घण्टा काम लगाएर ८ घण्टाको तलब दिने भनेको छ’

 बैशाख ७, २०७७ आइतबार १५:३६:४ | उज्यालो सहकर्मी

नविन तामाङ /नेपाल, हाल कुवेत ।

कोरोना सङ्क्रमण फैलिएपछि लकडाउनसँगै कुवेतमा धेरै कम्पनी बन्द भएका छन् । तर म काम गर्ने कम्पनी भने सुचारु नै छ । मेरो कम्पनी को नाम इन्टरग्रेटेड लोजेस्टीक कम्पनी हो ।

कम्पनीले काम बढी गराउने र तलब भने कम दिने गरिरहेको छ । १० देखि १३ घण्टासम्म काम लगाएर तलब भने ८ घण्टा को मात्र दिने भनेको छ । 

यस्तो माहामारीको बेला कम्पनी भित्र छिर्नै त डर लाग्छ त्यसैमाथि यति लामो समयसम्म काम गर्न निकै गाह्रो भएको छ । यति धेरै समय काम गर्न सक्दैनौं, हामी ८ घण्टा मात्र काम गछौं भन्दा दुई जना नेपाली श्रमिकलाई कम्पनीले कामबाट निकालेको छ ।

कम्पनीले आफ्नो क्याम्पमा बस्न नदिएपछि अहिले उनीहरु साथीको कोठामा बसिरहेका छन् । यहाँ निकै नै समस्या छ । 

हामीले जति  बोले पनि कसैको केही लाग्दैन । काम बढी लगाउने तर तलब दिन आनाकानी गर्ने गरेको छ । आठ घण्टाको ड्युटी हुन्छ बाँकी ओभर टायम हुन्थ्यो । तर अहिले त्यसो छैन । कम्पनीले जति घण्टा काममा खटाए पनि ८ घण्टाको मात्र तलब दिन्छ ।

नेपाली दूतावासमा सम्पर्क गरेका थियौं । कम्पनीले फोन नउठाउँदा कम्पनीसँग कुरा गर्न नसकेको दूतावासले जनाएको छ । दूतावासले पनि खासै चासो दिएर काम गरिरहेको छ जस्तो लाग्दैन । 

अहिले हामी बस्दै आएको क्याम्पमा कोरोनाको बिरामी फेला परिसकेका छन् । यस्तो अवस्थामा पनि हामीरु त्यही क्याम्पमा बस्न बाध्य छौं । हामीलाई अर्को क्याम्पमा लगेर राख भन्दा पनि कम्पनीले सुन्दै सुन्दैन । 

यस्तो महामारीको बेला, ज्यानको बाजी लगाएर काम गर्दा पनि पाउनुपर्ने तलब नै नपाउने यो कस्तो अन्याय । अब हामीले कसलाई भन्ने ।

के सरकारले परदेशमा पसिना बगाइरहेका युवाहरुबाट रेमिट्यान्स मात्र चाहेको हो ? हामीहरुलाई समस्या पर्दा सरकारको केही जिम्मेवारी त हुन्छ होला नि ? 
हामी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सरकारले उद्दार गर्छ कि, हामीले यतै मर्नु पर्ने हो ?

 

 

तपाईको प्रतिक्रिया