परदेशको पैसाभन्दा देशको माटो नै प्यारो रहेछ

 बैशाख ९, २०७७ मंगलबार १४:३८:५६ | मेरो कथा मेरो भोगाई

डिल्लीराम सुवेदी ,हाल दोहा, कतार ।

नेपामा छँदा प्रायः सबैलाई लाग्छ होला, विदेश जान पाए पैसा त जसोतसो कमाइन्थ्यो । पैसाका लागि त हामी नेपाली देश छाडेर परदेश लागेका हौं। तर अहिले कोरोनाले हाम्रो यो सोचलाई परिवर्तन गराइदिएको छ ।

अहिले लाग्छ परदेशको पैसाभन्दा देशको माटो नै प्यारो रहेछ । पहिले लाग्थ्यो पैसाले मानिसलाई बचाउँछ । तर अहिले हामीलाई मास्क, पञ्जा र सेनिटाइजरले बचाइरहेछ कि जस्तो लाग्छ ।

म दोहामा छु । यहाँ सङ्क्रमण दिनहुँ बढिरहेको छ । तर मेरो कम्पनीमा भने काम चलिरहेको छ । कतारले कडाइ गरेको क्षेत्रभन्दा मैले काम गर्ने क्षेत्र बाहिर पर्छ । धेरै साथीहरुलाई यतिबेला काम नहुँदा के खाने, कसरी बस्ने भन्ने चिन्ता छ । 

तर काम गर्नेहरु पनि ढुक्क छैनौं । काम नगरौं भएको छैन । काम गरौं भोकको भन्दा सङ्क्रमणको डर बढी छ । कम्पनीले सर्जिकल मास्क, पञ्जा र सेनिटाइजरको व्यवस्था गरेको छ । सुरक्षाका उपायहरु पनि सिकाएको छ ।

तर नियमित काम गर्दा के मास्क र पञ्जाले कोरोनालाई छेक्ला ? मैले मास्क लगाएकै छु, हातमा पञ्जा लगाएकै छु भन्दैमा म सुरक्षित छु भनेर ढुक्क हुने अवस्था छैन । बाँकी त भगवान भरोसामा चलिरहेको छ । आफूले गर्न सक्ने केही पनि छैन ।

कम्पनीको निर्देशन, यहाँको कानुनमा हाम्रो बाध्यता पनि बेरिएको छ । यहाँ हरियो तरकारीको अभाव देखिएको छ । अब बिस्तारै महङ्गीले ढाड सेक्ने होला । यो बिजोग परदेशमा हेर्नुभन्दा जे होस् आफ्नै देशमा एकमुठी सुखको सास फेर्न मन छ ।

तर संसार नै लकडाउन भएका बेला सरकारले कहिले बोलाउँछ, कहिले लिन आउँछ भनेर कुर्नुबाहेक अर्को उपाय छैन । त्यसैले सुरक्षित होऔं । र्धर्य गरौं । कुनै दिन हाम्रो पनि त दिन आउला । हाम्रो पनि त सरकार हामीलाई लिन आउला ।

 

तपाईको प्रतिक्रिया