वित्तीय साक्षरता कक्षाले श्रीमान् सुध्रिए , घर व्यवहार पनि फेरियो

 फागुन २०, २०७८ शुक्रबार ११:२८:३० | ओजोन बाबु
unn.prixa.net

खोटाङ – ‘मेरो त जीवन नै परिवर्तन भयो ’ केपीलासगढी गाउँपालिका बाक्सिलाकी भावना तामाङ एकछिन आफ्नो विगतको सम्झना गर्दै उज्यालो अनुहार बनाउनुहुन्छ ।

किनकि वित्तीय साक्षरता कक्षामा बसेपछि भावनाको परिवारमा खुसी छाएको छ । आफ्नो परिवारमा छाएको खुसी देखेर मक्ख  पर्नुभएको उहाँ । भन्नुहुन्छ, ‘मेरोजस्तै जीवनमा परिवर्तन हर कोहीले गर्न सकुन् ।’

२०७२ सालमा श्रीमान् कृष्णकुमार तामाङ विदेश गएपछि भावनाले जेनतेन घर चलाइरहनुभएको थियो । भर्खरै बिहे गरी आएको नयाँ ठाउँ, नयाँ गाउँ । समुदायमा घुलमिल हुन निक्कै कठिनाइ भयो सुरुमा उहाँलाई । 

बारिभरि कोदै कोदो रोप्ने अनि खेतभरि धानै धान । यस्तो चलन देख्दा छक्क पर्नुहुन्थ्यो । टन्न खेतबारी भए पनि घरमा खाने तरकारी चैँ किन्नु पर्थ्यो ।

एक दिन भावनाले वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरूका लागि पालिकाले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै छ  भन्ने सुन्नुभयो । आफू पनि कक्षामा बस्ने निधोसहित उहाँले गाउँमा २०७६ माघदेखि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा नियमित जान थाल्नुभयो ।

व्यावहारिक ज्ञान सिक्न पाइने कक्षामा लेखपढ गर्न पाउँदा उहाँको मन खुब रमायो । कक्षामा पढ्न पाइने कुराले नै भावनालाई नियमित कक्षामा तान्यो ।

‘कक्षामा बसेर पढ्न थालेपछि त मलाई यो कक्षा मेरै लागि बनेको झैँ लाग्यो’ भावना खुसी हुँदै सुनाउनुहुन्छ ‘यो कक्षामा बस्न थालेपछि मेरो सोच्ने तरिका नै फरक भयो, मलाई लाग्थ्यो कमाउन विदेश नै जानुपर्छ तर यही कक्षामा बस्न थालेपछि होइन रहेछ भन्ने अनुभव भयो ।’ पैसा विदेशमा मात्र हैन हाम्रै घर वरिपरी पनि त रहेछ ।

यो कुरा बुझेपछि सुरुमा भावनाले घरमा खानकै लागि घर वरिपरि तरकारी रोप्नुभयो । नजिकै बजार थियो । अलिक बढी लगाउन पाए बिक्री पनि हुन्थ्यो भन्ने लाग्न थाल्यो उहाँलाई । तर सासू ससुरा कोदो र धान नरोपे त के खानु भन्दै बारीमा तरकारी रोप्न सहमत भएनन् । तर भावनाले मनमनै बुनेको योजनालाई सासू ससुराको असहमतिले रोकेन ।

आफूले वित्तीय साक्षरताको कक्षा लिइरहेको, त्यहाँबाट सिकेको कुरा र अब घरमै केही आम्दानी हुने कुरा सोचिरहेको कुरा विदेशमा भएका श्रीमानलाई सुनाउनुभयो । 

‘अब यहीँ केही गर्नुपर्छ, यत्रो खेतबारी छ, तपाईँ पनि नेपाल नै आउनु भने श्रीमानलाई पनि’  भावना सुनाउनुहुन्छ । 

अनि, सासू ससुराको मन फेरियो

भावनाले व्यवसायीक रूपमा तरकारी खेती गर्न नपाए पनि घरमा खानकै लागि भनेर राखेको तरकारीले सासू ससुराको मन फेर्न ठूलो सहयोग गर्‍यो । 

आफ्नै बारीमा तरकारी फल्दा किन्न परेन । उल्टो गाउँका मानिस पनि किन्न देऊ भन्दै आउन थाले । 

‘मानिसहरू किन्न आउन थालेपछि त सासू ससुरालाई पनि हुने रहेछ भन्ने लाग्यो होला, अलिक मन फेर्नुभयो ।’

श्रीमानले एक दशकभन्दा लामो समय विदेशमा बिताए पनि खासै कमाइ भएको थिएन । 

‘उहाँले पनि नकमाएको हैन, तर उहाँको कमाइले घर बनायौँ, ऋण तिर्‍यौ, यसो गर्दा गर्दै पैसा सकियो, त्यसमाथि घर खर्च पनि धान्न पर्दा त बचाउनै गाह्रो हुने रहेछ’ भावना आफ्नो अनुभव सुनाउनुहुन्छ । 

हरेक पल्ट श्रीमानसँग कुरा हुँदा भावना श्रीमानलाई नेपाल फर्किन अनुरोध गर्नुहुन्थ्यो । 

यता सासू ससुरालाई पनि यसरी धान कोदोको खेती मात्र गरेर हुन्न भनेर सम्झाउनुहुन्थ्यो । खेतबारीभरि धान कोदो मात्र रोपेको देख्दा मन मान्दैन थियो भावनाको । 

परिस्थिति सोचेजस्तो भएन 

२०७६ सालको कात्तिकमा श्रीमान् मलेसियाबाट नेपाल फर्किए । श्रीमान् देश फर्किएपछि मिलीजुली सुखी संसार बनाउने योजना बुन्नुभएको थियो भावनाले । तर योजना बनाएजस्तो, सोचेजस्तो भएन सुरुवाती दिनहरू । श्रीमानले न काममा सघाए, न केही व्यवसाय गर्ने बारेमा ताते, न घरमा आमा बुवा, श्रीमती, आफ्नो बालख छोराप्रति ध्यान दिए ।

दिनहुँ जाँड रक्सी खाने, घरमा झगडा गर्ने बानीले हैरान बनायो भावनालाई । तर उहाँले हार खानु भएन । 

‘अब यसै भएन उसै भएन भनेर अलि अलि गर्दै घर वरिपरि थप तरकारी लगाएँ, बाख्रा थपेँ, कुखुरा पनि पाल्न थालेँ, घरकै एउटा कोठामा सानो चटपटे र किराना पसल पनि खोलेँ’ भावना आफूले हिम्मत जुटाउँदाको त्यो क्षण सम्झँदै भन्नुहुन्छ । 

साँघुरो किराना पसलको एउटा कुनामा बसेर आफ्नो विगत सुनाइरहँदा  भावनाका आँखा अहिले पनि रसाए । 

गरिखाने मेसो त मिल्यो । तर अर्को चुनौती श्रीमानको बानी व्यवहारलाई सुधार्नु थियो । भावना सही समयको प्रतीक्षामा हुनुहुन्थ्यो । हरेक समय खेर जान दिनुहुन्न भन्ने लाग्थ्यो उहाँलाई । श्रीमानले सुन्न नचाहे पनि कहिले आफूले वित्तीय साक्षरतामा सिकेको कुरा त कहिले कक्षाले गरेका परिवर्तनका कुराहरू सुनाउनुहुन्थ्यो । आफ्नो सोच पनि परिवर्तन भएको भन्दै श्रीमानलाई सकारात्मक कुराहरू सुनाउनुहुन्थ्यो ।

फेरिए श्रीमान् 

भावनाको प्रयासले बिस्तारै काम गर्न थाल्यो । श्रीमानले बिस्तारै जाँड रक्सी खान अलिक कम गर्न थाले ।

पहिलेको तुलनामा अलि बढी समय घरमा बस्न थाले । यही मौका पारेर भावनाले पनि  साँझमा दिनभरि गरेको काम, कमाइ सबै श्रीमानलाई सुनाउनुभयो । र भोलिको योजनाबारे पनि भन्न गर्न थाल्नुभयो । सुरु सुरुमा त श्रीमानले उहाँको कुराहरू सुने नसुने झैँ गरे । एकातिर फर्किएर टोलाइरहन्थे । तर भावनाले प्रयास गर्न भने छाड्नुभएन । हरेक साँझ यो क्रम जारी राख्नुभयो ।

त्यसपछि भने घरी घरी  र्‍याकको कुनामा थन्क्याएर राखेको भावनाको वित्तीय साक्षरताको किताब उठाएर पल्टाउन थाले श्रीमानले । कति पटक त किताब पल्टाउँदै टोलाउँथेँ । श्रीमानको क्रियाकलाप देखेर भावना छक्क पर्नुहुन्थ्यो । तर केही भन्नुभएन त्यो समयमा । 

‘एक दिन त मलाई यही किताब हो तिमीले भनेको भनेर सोध्नुभयो, मैले डराउँदै हो भने, उहाँले राम्रो रहेछ त भन्नुभयो, मैले उम भने, किन यसो भनेको होला भन्ने मनमा खुलदुली भयो तर केही भन्न सकिन त्यो बेला’ भावना भन्नुहुन्छ ।

त्यसपछि भने श्रीमानको दैनिकी अचानक फेरियो । उज्यालो भएदेखि जाँड रक्सी खाने मान्छे बिहान उठेर घर सरसफाइ गर्ने, चुल्होमा आगो सल्काउने घर वरिपरिको काममा ध्यान दिने गर्न थाले । खेत बारीको काम र घाँस दाउरामा पनि सघाउन थले ।

‘श्रीमानको यो व्यवहार देख्दा त मेरो त मन खुसीले उड्यो, चमत्कारै भयो मेरो घरमा त’ आफ्नो श्रीमानको फेरिएको व्यवहारबारे सुनाउँदा भावनाको मुहार चम्किलो हुन्छ ।

अहिले श्रीमान् श्रीमती र आमा बुवा  मिलेर बसेका छन् । बारी भरी तरकारी लगाएका छन् । बाख्रा पालेका छन् । धान खेतमा अलैँची लगाएका छन् । वित्तीय साक्षरता कक्षामा सँगै पढेका घर वरिपरिका अरूसँग मिलेर कृषि समूह समेत बनाएका छन् । 

पालिकाको सहयोग

उनीहरूको काम, तत्परता र योजना हेरेर गाउँपालिकाले कृषि तथा पशुपालन सम्बन्धी प्राविधिक तालिम दियो । साथै तरकारी खेतीका लागी टनेल, पानी ट्ंयाकी, पाइपसमेत पालिकाले उपलब्ध गराएको छ ।

आजकाल भावना खुसी हुनुहुन्छ । खर्च हुने ठाउँभन्दा आम्दानी हुने ठाउँ धेरै होस् भनेर सक्ने जति सबै गरेको  बताउनुहुन्छ । गाउँमा आमा समूहमा पनि बस्नुभएको छ भने बचत समूहमा पनि हुनुहुन्छ । 

परिवारको स्वास्थ्य बिमा गर्नुभएको छ । सानो छोराको जीवन बिमा गर्ने भावनाको योजना छ ।

स्थानीय बैङ्कमा मासिक रूपमा बचत पनि गर्नुहुन्छ । छोराको स्वास्थ्य सम्झेर पोसिलो दूधका लागि श्रीमानसँग सल्लाह गरेर गाईसमेत किन्नुभएको छ । 

भावनाका श्रीमान्  कृष्णकुमार रक्सी त च्वाट्टै छाडेको बताउनुहुन्छ । 

‘सुरुमा नेपाल आउनसाथ मन बिग्रियो, पछि यसरी त हुँदैन भन्ने लाग्यो, अहिले ठिक छ’ उहाँ भन्नुहुन्छ ।

छोराले पछिल्लो समय गरेको काम देखेर बुवा आमा पनि मक्ख छन् । बुहारीले बिग्रिएको घर सम्हालेको देख्दा सासू ससुरा पनि बुहारीप्रति कृतज्ञ छन् ।  

आजकाल उनीहरू दिनभरि मिलेर काम गर्छन् । साँझ दिनभरिको काम र भोलिको योजना बनाउँछन् । 

‘हामी साँझमा त मिटिङ नै गछौं’ भावना मुस्कुराउँदै भन्नुहुन्छ ‘अहिले त छिमेकी पनि दङ्ग परेका छन् । 

ओजोन बाबु

ओजोन बाबु डीप्रोक्स नेपालमा सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत प्रदेश एकका लागि वित्तीय साक्षरता क्षेत्रीय संयोजक हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।

तपाईको प्रतिक्रिया