ओमानमा कार्यरत रहँदा यी हुन् तपाईँले गर्न हुने र नहुने कार्यहरू

 पुस २०, २०७९ बुधबार १३:८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ ओमानमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने त्यहाँ रहँदा तपाईँले कम्पनीको नियम सँगसँगै देशको नियम कानुनको पनि पालना गर्न पर्छ । जानकारी बिनै पनि त्यहाँको कानुन उल्लङ्घन भएमा कारबाहीमा परिन्छ । कहिले काहीँ त पत्तै नपाई जेलमा पुग्न परेको पनि थुप्रै उदाहरणहरू छन् ।

ओमानमा कार्यरत हुँदा गर्न नहुने कुराहरू

तपाईँ ओमानमा कार्यरत रहँदा रक्सी र ड्रग्स खाने काम नगर्नुहोस् । ओमान सरकारले रक्सी र लागूपदार्थ प्रतिबन्धित गरेको छ । रक्सी खान पूर्णतया प्रतिबन्ध छैन तर सार्वजनिक स्थानमा र सडकमा खान मिल्दैन ।

यस्तै तपाईँ ओमानमा काम गर्न भनेर गइसकेपछि त्यहाँको परम्परा र संस्कृतिको मजाक गर्न हुँदैन । यस्तो गरेमा पनि तपाईँ समस्यामा पर्न सक्नुहुन्छ । 

ओमानमा कार्यरत रहँदा साथमा हातहतियार नबोक्नुहोस् । ओमानलाई मध्यपूर्वको सबैभन्दा सुरक्षित देश मानिन्छ । जसका कारण पनि घातक हतियार बोकेमा जेल वा जरिवाना तिर्न पर्ने हुन्छ । 

यदि तपाईँसँग श्रमिक भिसा छ भने ओमान पुगेको एक महिनाभित्र नै आफ्नो श्रम निवास कार्ड प्राप्त गर्नु पर्छ । साथैमा

आफ्नो राहदानीको म्याद सकिनु अगावै नवीकरण गरिहाल्न पर्छ भने आफ्नो काम, कर्तव्य र अधिकार बारेमा जान्नका लागि करार सम्झौता पत्र साथैमा राख्न पर्छ । 

श्रमिकका रूपमा रोजगारदातासँग पाइने अधिकार

तपाईँको कार्यस्थलमा हुने दुर्घटना र चोटपटकलाई सम्बोधन गर्ने गरी रोजगारदाताले बिमा गराउन पर्छ । यदि गरेको छैन भने रोजगारदातालाई यसबारेमा सचेत गराउनुहोस् । यदि तपाईँले महिनामा पाउने तलब ढिलो गरी पाइरहनुभएको छ भने त्यहाँको म्यानेजरलाई सोध्न पाउनुहुन्छ । म्यानेजरले जवाफ नदिएमा ओमानको श्रम जनशक्ति मन्त्रालयले तोकेको विभागमा गएर आफ्नो समस्या राख्न सक्नुहुन्छ । 

यदि तपाईँलाई रोजगारदाताले करारमा तोकिएकोभन्दा बढी समय काममा लगाएमा त्यहाँको श्रम कानुन अनुसार अतिरिक्त तलब दिन पर्छ । 

तर तपाईँले काम गर्नका लागि भिसा लिनुभएको रोजगारदाता छाडेर अर्को रोजगारदाताकोमा काम गर्न हुँदैन । यसो गर्नु भनेको गैरकानुनी काम हो । यस्तो गरेमा जेल र जरिवानासमेत हुन सक्छ । 

यस्तै सार्वजनिक वा आधारभूत सेवा प्रदान गर्ने संस्थाहरूमा हडताल गर्न हुँदैन । कम्पनीसँग कुनै गुनासो भएमा बरु सम्बन्धित निकायमा आफ्नो समस्या दर्ता गराउन पर्छ ।

तपाईँले पालना गर्नु पर्ने थप नियमहरू

ओमानमा कार्यरत हुँदा ठाउँ अनुसारको ड्रेस कोडको पालना गर्नुपर्छ भने मस्जिदहरूको पनि सम्मान गर्नुपर्छ । किनकि ओमानको मुख्य धर्म इस्लाम हो । 

ओमानीहरुले तपाईँलाई कहिलेकाहीँ घरमा खाना खाने गरी निमन्त्रण दिन सक्छन् । त्यस्तो निमन्त्रणा स्वीकार गर्नुपर्छ । निमन्त्रणा स्वीकार गर्नेहरूलाई ओमानीले प्रशंसा गर्ने गर्छन् र उनीहरूले अपरिचितहरूलाई पनि कहिलेकाहीँ खानालाई निमन्त्रणा दिने गर्छन् । 

बोल्दा नम्रतापूर्वक बोल्नुपर्छ । अझ सार्वजनिक स्थानहरूमा आफूले बोल्ने शब्दहरूमा ध्यान पु¥याउनुहोस् । 

आफ्नो देशमा कोही मानिस देख्दा राम्रो लाग्यो भने नसोधी फोटो खिच्ने बानी छ भने सचेत हुनुहोस् ।ओमानमा फोटो खिच्दा अनुमति माग्नुपर्छ । अनुमति बिनै कोही ओमानी नागरिकको फोटो खिच्दा उनीहरूले गोपनीयताको उल्लङ्घन भएको भन्दै तपाईँलाई अप्ठेरोमा पारिदिन सक्छन् ।

ओमानीले गाडी चलाउँदा प्रायः हर्न बजाउँदैनन् र सडकमा ठुलो स्वरमा बोल्दैनन् । तपाईँले पनि यो कुराको अनुसरण गर्नुपर्छ ।

ओमानको कानुन के के हो भनेर जानकारी राख्नु पर्छ । विशेष गरी सडक चिन्ह, भिसा, राहदानी र अन्य कानुनी कुराहरूको बारेमा ओमानको कानुनहरू अध्ययन गर्नु पर्छ । रमजानको समयमा विशेष सावधानी अपनाउन पर्छ । रमजानको समयमा दिनको उज्यालोमा खाने, पिउने, धूम्रपान गर्ने, चर्को स्वरमा गीत बजाउने गर्नु हुँदैन । यसो गरेमा कारबाही हुनसक्छ । 

(ओमानमा रहेको नेपाली दूतावासको सहयोगमा ।)

तपाईको प्रतिक्रिया