भिजिट भिसामा वैदेशिक रोजगारीमा हिँडेका चार हजारभन्दा धेरैलाई विमानस्थलबाटै फर्काइयो

 असार १५, २०८० शुक्रबार १२:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा धेरैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

२०७९ वैशाख यता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार एक सय ७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । 

भिजिट भिसा लगाएर रोजगारीका लागि विदेश हिँडेको र मानव बेचबिखन तथा मानव तस्करीको जोखिममा पर्न सक्ने उच्च जोखिम भएकाहरूलाई प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने गरेको छ ।

गएको वैशाखदेखि अहिलेसम्म साढे दुई महिनाको अवधिमै १७ सय ११ जनालाई प्रहरीले विमानस्थलबाट परामर्श गरी फर्काएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यसरी विमानस्थलबाट फर्काइनेमा सबैभन्दा धेरै महिला रहेका छन् । गएको वर्षको माघदेखि अहिलेसम्म करिब ६ महिनाको अवधिमा मात्रै ३१ सय ७१ जना फर्काइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार उनीहरू मध्ये २१ सय २६ जना महिला रहेका छन् भने एक हजार ४५ जना पुरुष रहेका छन् ।

‘भिसा भिजिट हुन्छ तर सोधपुछ गर्दै जाँदा उहाँ काम गर्नका लागि हिँडेको भन्ने प्रमाण भेटिइहाल्छ’ वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्नुहुन्छ ‘कतिपयसँग हातमा प्रहरी रिपोर्ट, मेडिकल जाँचको कागजात पनि भेटिन्छ भने कतिपयलाई त एजेन्टहरूले नै राहदानी बनाउनेदेखि सबै प्रक्रियामा पैसा खर्च गरेकोसमेत पाइन्छ ।’

भिजिट भिसामा खाडीका देश जान खोज्ने धेरै

भिजिट भिसामा हिँडेका र बेचबिखन तथा तस्करीको जोखिममा पर्ने जोखिम भएकाहरू मध्ये धेरैजसो खाडीका देशमा जान खोज्नेहरू रहेको ब्युरोले जनाएको छ ।

बितेका झण्डै ६ महिनामा यूएई, ओमान, कतार, कुवेत र बहराइनजस्ता देशमा भिजिट भिसामा जान खोज्ने २१ सय ५ महिला र ९ सय ९६ जना पुरुष गरी ३१ सय १ जना रहेका छन् । 

ब्युरोको तथ्याङ्क अनुसार भिजिट भिसामा सर्बिया, पोर्चुगल, टर्की, साइप्रसजस्ता देशमा भिजिट भिसामा जाने ११ जना, अजरबैजान, अफ्रिकी देशहरू जान खोज्ने १५ जना र पूर्वी एसियाका देशहरू म्यानमार, लाओस, कम्बोडिया, थाइल्याण्ड लगायतका देश जान खोज्ने ४४ जनालाई विमानस्थलबाटै फर्काइएको हो ।

तपाईको प्रतिक्रिया