Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५२५ औँ अंक

कार्यक्रम देश परदेशको अंक ५२५ वैदेशिक रोजगारीको सिलसिलामा आइपर्ने अप्ठेरा र त्यसबाट बच्न विदेशमा रहेका व्यक्ति र नेपालमा रहेको परिवारले अपनाउन सक्ने केही उपायहरू सोधिखोजी समेटिएको छ । गन्तव्य देशमा पुगिसकेपछि काम गर्दागर्दै समस्या भयो, भनेअनुसार काम, तलब र सुविधा नपाउँदा के गर्ने र कसलाई गुहार्ने भन्ने विषयमा प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका कुलप्रसाद कार्की र परदेश गएका मानिस हराएमा खोजीका लागि कसलाई भन्ने र परिवारले के कस्ता उपायहरू अपनाउने भन्ने विषयमा मलेसियास्थित नेपाली दूतावासका दितीय सचिव तथा सूचना अधिकारी प्रतीक कार्कीका सल्लाह र सुझावहरू कार्यक्रममा सुन्न सकिन्छ । खाडी लगायतका देशमा घरेलु काममा कुनै समस्या पर्दा समस्या परेको व्यक्ति र परिवारले अपनाउने उपायहरूबारे यूएईमा काम गर्दै श्रमिक सञ्जालमा सक्रिय सुस्मा बरालले दिनुभएका सुझाव समेटिएको छ । रोजगारीकै क्रममा कानुनी झमेलामा पर्दा र आफन्त जेल पर्दा झमेलामा परेको व्यक्ति र परिवारले के गर्ने भन्ने प्रश्नको जवाफ पिपल फोरममा क्रियाशील अधिवक्ता सुदीप देवकोटाबाट ल्याएका छौँ भने  भिजिट भिसामा गएर रोजगारी खोज्दा आइपर्ने अप्ठेरा र त्यस्तो बेला सहयोग गर्ने निकायबारे  इराक र कुवेतमा गरी करिब १७ वर्ष काम गरेर फर्कंनुुभएका हरिकृष्ण न्यौपानेले दिनुभएका जानकारी पनि सुन्न सकिन्छ । साथमा छ हप्ताभरिका रोजगार गतिविधि पनि ।