भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

 चैत १५, २०८० बिहिबार १७:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यही मार्च ३० अर्थात् पर्सि शनिवारदेखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको प्राधिकरणका प्रवक्ता एवम् भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । उहाँका अनुसार पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ ।

सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको प्रवक्ता घोषले बताउनुभयो । अहिले कुल तीन हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

नेपालले बर्खायाममा केही मात्रामा बिजुली भारत निर्यात गर्दै आएको भए पनि सुक्खायाममा कम्तीमा ४० प्रतिशत ऊर्जा भारतसँग किन्छ । यसअघि नेपालले भारतीय ऊर्जा बजारबाट बिजुली किन्न पाउने अनुमतिको म्याद सकिन लागेको तर त्यसको नवीकरणमा ढिला भएकाले नेपालमा ऊर्जा सङ्कट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त भएको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया