ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला : पर्यटन क्षेत्रसँगै देशको अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा

 बैशाख २, २०८१ आइतबार ७:३२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै  घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले हिजो बेलुका ठमेलको त्रिदेवीमार्गमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले चौबीसै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउनका लागि चौबीसै घण्टा बजार खुला गरिएको बताउनुभयो । गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।

काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले चौबीसै घण्टा ठमेल र दरबारमार्ग सञ्चालन हुँदा देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौ महानगर–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयन गर्न जोड दिनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने योजना रहेकोमा बल्ल अगाडि बढेको बताउनुभयो । यो अभियानलाई विस्तारै काठमाण्डौका अन्य शहरमा पनि लैजानुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया