कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत

 बैशाख ११, २०८१ मंगलबार १६:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ ।

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपतिसँगै स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो । उहाँले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डौको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ । विशिष्ट पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । सडक, चोक, गल्ली, पुल, विभिन्न अग्ला भवन लगायतमा पुगेर नेपाली सेनाले सुरक्षा दिइरहेको छ । सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया