गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन

अमेरिकाले इजरायललाई मानिस मार्ने लाइसेन्स र हतियार दिएको आरोप

 बैशाख ११, २०८१ मंगलबार १८:२५:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा इजरायलले गरिरहेको हमलाको विरोधमा अमेरिकाका विभिन्न विश्वविद्यालयमा प्रदर्शन भएका छन् । गए राति भएका विशाल प्रदर्शनका क्रममा प्रहरीले सयौँ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ । येल र कोलम्बिया विश्वविद्यालयमा भएका प्रदर्शनका कारण पढाइ नै ठप्प भएको खबरमा उल्लेख छ ।

बार्कली, एमआईटी र देशका अन्य ठूला विश्वविद्यालय र क्याम्पसहरूमा विद्यार्थीले प्रदर्शन गरिरहेका छन् । इजरायलले गाजामा युद्ध लडेको नभई नरसंहार गरिरहेकाले अमेरिकाले इजरायललाई साथ दिन नहुने विद्यार्थीको माग छ । केही विद्यार्थी भने इजरायलको पक्षमा छन् ।गा

गएको हप्ता पनि न्युयोर्क प्रहरीले कोलम्बिया विश्वविद्यालय परिसरबाट एक सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । न्युयोर्क विश्वविद्यालको छेउमा विद्यार्थीले पाल टाँगेरै प्रदर्शन गरेका छन् । उनीहरूले अमेरिकाले इजरायलाई मान्छे मार्ने लाइसेन्स र हतियार दिएको भन्दै चर्को विरोध गरेका छन् ।

विश्वविद्यालयहरूमा भइरहेको विरोध प्रदर्शनका बारेमा सोध्दा राष्ट्रपति जो बाइडेनले यहुदीविरुद्ध आन्दोलन गर्ने र प्यालेस्टाइनमा के भइरहेको छ भन्ने कुरा नबुझ्नेहरू दुवैको निन्दा गर्ने बताउनुभएको छ । यहुदी समर्थक र विरोधी दुवैको विरोध बढ्दै जाँदा विभिन्न विश्वविद्यालयमा हिंसाको डर बढेको छ । प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले  केही दिनअघि अमेरिकाभरका प्रमुख सडकहरू अवरुद्ध गरेका थिए ।

गएको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने दुई सय ५३ जनालाई बन्धक बनाएको थियो । त्यसको जवाफमा इजरायलले गाजामा गरिरहेको आक्रमणमा ३४ हजार जनाभन्दा धेरै मारिएका छन् । मारिनेमा धेरैजसो बालबालिका र महिला रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया