तेस्रो लगानी सम्मेलन सम्पन्न, चार वटा परियोजनाका लागि नौ अर्ब लगानी स्वीकृत

 बैशाख १८, २०८१ मंगलबार ८:१८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्ठौ – सरकारले काठमाण्डौ आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ सम्पन्न भएको छ । आइतवारदेखि शुरु भएको सम्मलेन हिजो सम्पन्न भएको हो । सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन सचिवालयका संयोजक सुशील भट्टले जानकारी दिनुभयो ।

सम्मेलनबाट नेपालमा लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त भएको उहाँले दाबी गर्नुभयो । सम्मेलनमा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डका नौ परियोजनासहित एक सय ५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र पेस गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत् विभिन्न चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।

यस्तै निजी क्षेत्रमा सहकार्य सम्बन्धि सात वटा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ । विश्व बैंक समूह, चीन, भारत, कुवेत, युएई, बेलायत र अमेरिकाका प्रतिनिधिले सहयोगका क्षेत्रहरूमा छलफल गरी नेपालमा लगानीका अवसरहरू खोज्न चासो व्यक्त गरेका छन् । नेपालको दिगो विकास पहलहरूलाई समर्थन गर्ने प्रतिवद्धता पनि यी निकायहरुले जनाएका छन् ।

तेस्रो लगानी सम्मेलनमा सरोकारवालाहरू नेपालमा लगानीको लागि अनुकूल वातावरण बनेको सन्देश दिएका छन् । लगानी आह्वान गर्न आयोजना गरिएको सम्मेलनमा सरकार, प्रतिपक्ष तथा शीर्ष नेताहरूका साथै निजी क्षेत्रले लगानीको लागि एक स्वरमा आह्वान गरेका छन् ।

त्यस्तै विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गएको प्रतिक्रिया दिएका छन् । लगानी सम्मेलनमा प्रतिबद्धता आएपनि लगानी भित्राउन भने सरकारले थप पहल गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपालमा यस अघि २०७३ सालमा भएको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएकोमा झण्डै दुई खर्ब रुपैयाँ जतिको मात्र लगानी आउन सकेको सरकारी तथ्याङ्क छ ।

यस्तै २०७६ सालको लगानी सम्मेलनमा १५ खर्ब रुपैयाँ जतिको प्रतिवद्धता आएकोमा एक खर्ब रुपैयाँभन्दा कम मात्र लगानी आउन सकेको सरकारी अधिकारीहरु बताउँछन् ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया