नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै, घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुल्यो

 बैशाख १८, २०८१ मंगलबार १५:८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालको घाँस चीनको स्वशासित क्षेत्र तिब्बतमा बिक्री गरिने भएको छ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको हो । यसका लागि तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई वटा कम्पनीसँग सम्झौता गरेको छ ।

नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल कम्पनीसँग क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता भएको हो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थितिमा घाँस र दाना निर्यात गर्नेबारे सम्झौता भएको हो । अब घाँस खेती गर्ने किसानलाई निर्यातको ढोका खुलेको छ ।

नेपालको दक्षिणी तराईको हावापानी र माटोको अवस्था ओट ग्रासको विकासका लागि उपयुक्त मानिन्छ । ओट घाँसमा कच्चा फाइबरको मात्रा राम्रो हुन्छ, याे घाँस याकजस्ता पशुका लागि महत्त्वपूर्ण मानिन्छ । तिब्बतमा ओट ग्रासको ठूलो माग छ । नेपालबाट उच्च गुणस्तरको ओट घाँस र पशु दानाको आपूर्तिलाई प्रभावकारी रूपमा सुधार गर्न तिब्बत सरकारले नेपाली किसानसँग सहकार्य गरेको हो ।

घाँस लैजाने कम्पनी तिब्बत प्लेटु ब्लु एग्रिकल्चरका निर्देशक झ्याङ्ग जियाङ्गले तिब्बतका दुग्ध फार्म र किसानका लागि चीनको अर्को क्षेत्रबाट घाँस ल्याउनुभन्दा तातोपानी र केरुङ नाका हुँदै नेपालबाट घाँस किनेर लैजान सहज र सस्तो हुने बताउनुभयो । यसले नेपाली किसानको आयआर्जन बढ्ने र रोजगारी सिर्जना हुने अपेक्षा छ ।

पछिल्ला वर्ष चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको छ । २०७८ सालमा चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्दा नेपालबाट चीनमा घाँस निर्यात गर्नेसम्बन्धी 'प्रोटोकल' मा हस्ताक्षर गर्नुभएको थियो । त्यसपछि चितवनको एक नेपाली कम्पनीले हाइलेज (घाँसको विशेष प्रकार) बनाएर तिब्बत पठाइरहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया