वैशाख ३१ गते बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

 बैशाख १९, २०८१ बुधबार १५:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।

नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ सञ्चालन गर्न लागेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउन जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

नेपालमा अहिले पनि २० प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छैनन् भने चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गएर दादुरा रुबेलाको महामारीसमेत देखापरेकाले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोप केन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोध गरेको छ । पूर्ण खोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकाले सबै बालबालिकालाई पूर्ण खोप लगाउन मन्त्रालयको आग्रह छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया