पर्वतको कुश्मा बजारमा खानेपानीको 'लोडशेडिङ' शुरु

 बैशाख २०, २०८१ बिहिबार १५:२१:१७ | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्वत – लामो समयदेखिको खडेरीका कारण मुहान सुकेपछि पर्वत सदरमुकाम कुश्मा बजारमा खानेपानीको अभाव भएको छ ।

नियमित आउने स्रोतमा पानीको मात्रा घट्दै गएपछि मङ्गलवारदेखि खानेपानीको 'लोडशेडिङ' शुरु भएको छ । बजार क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्दै आएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले मङ्गलवारदेखि लागू हुनेगरी अनिश्चितकालका लागि 'लोडशेडिङ' शुरु गरेको हो ।

प्रत्येक दिन बिहान र बेलुका दुई समय धारामा खानेपानी आउने गरेकोमा 'लोडशेडिङ' गरी बिहान वा बेलुकामात्र पानी उपलब्ध गराउन थालिएको छ । बजारको आधा भागमा बिहान र आधा भागमा बेलुका पानी दिनेगरी समय व्यवस्थापन गरिएको संस्थाले जनाएको छ ।

बढ्दो खडेरीका कारण अहिले खानेपानीको मुख्य ट्याङ्कीमा प्रतिसेकेन्ड ३३ लिटरका दरले पानी खसिरहेको छ । बजारको मागअनुसार पानीको आपूर्ति दिनका लागि प्रतिसेकेन्ड ६० लिटरका दरले पानी खस्नुपर्ने भए पनि आधाभन्दा कम पानी आएका कारण 'लोडशेडिङ' गर्नुको विकल्प नभएको शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

खडेरीका कारण २४ घण्टामा जम्मा २८ लाख ५१ हजार दुई सय लिटर पानीको आपूर्ति भइरहेको उहाँले बताउनुभयो । बजारको मागअनुसार पानी वितरण गर्नका लागि प्रत्येक २४ घण्टामा ५१ लाख ८४ हजार लिटर पानी आवश्यक पर्ने श्रेष्ठले बताउनुभयो । खडेरीका कारण बजारवासीले तरकारीखेतीका लागि पनि पानी प्रयोग गर्ने गरेकाले अन्य समयभन्दा बढी माग हुने गरेको उहाँले बताउनुभयो ।

कतिपय ग्राहकले धाराबाटै मोटर लगाएर पानी तानिदिँदा सबैले समानर"पमा उपभोग गर्न नपाएको संस्थाको गुनासो रहेको छ । अहिले कुश्मा बजारमा मोदी गाउँपालिकाको पाती खोलाबाट १६ लिटर, कुश्मा नगरपालिकामा रहेकाे खुर्कोटको केवादी खोलाबाट सात लिटर, फाप्रे खोला लिफ्टिङबाट पाँच लिटर र डीप बोरिङबाट पाँच लिटर गरी प्रतिसेकेन्ड ३३ लिटरका दरमा पानी आइरहेको छ ।

अब बर्खा लागेपछि प्रतिसेकेन्ड ३५ लिटरसम्म पानी आउने केवादी खोला अहिले सात लिटरमा पुगेको छ । पानीको आपूर्तिमा नै समस्या भएपछि मङ्गलवारदेखि लागू हुने गरेर संस्थाले बजारका विभिन्न क्षेत्रमा पालोअनुसार पानीको वितरण गर्न पानीको 'लोडशेडिङ' शुरु गरेको हो । कुश्मा बजारका विभिन्न भागहरूलाई छ भागमा बाँडेर तीमध्येका तीन वटामा बिहानको समय र तीन वटामा बेलुकाको समयमा मात्रै आपूर्ति व्यवस्था मिलाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गर्मी तथा खडेरीकै बेलामा पानीको आपूर्ति माग बढी हुने भए पनि यही बेलामा पानीको समस्या झेल्नुपर्दा बजारवासी समस्यामा परेका छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया