विराटनगरमा डेढ करोड रुपैयाँ लगानीमा बनेको बायोग्यास प्लान्ट अलपत्र

 बैशाख २२, २०८१ शनिबार १८:२५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मोरङ – विराटनगरमा २०७५ सालमा डेढ करोड रुपैयाँ लगानीमा बनेको बायोग्यास प्लान्ट अलपत्र परेको छ । ग्यास सिलिण्डरको युग अन्त्य गरेर घर–घरमा ग्यास पुर्‍याउने उद्घोषसहित पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द रहेको छ ।

सडक बिस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो 'घर–घरमा ग्यास पाइप' भन्ने चुनावी नारालाई सार्थकता तुल्याउन भन्दै बायोग्यास प्लान्टको परिकल्पना भएको थियो ।

विराटनगर महानगरपालिका–१४ जतुवामा दुई सय २० घनमिटर क्षमताको ग्यास प्लान्ट उद्घाटन गर्दै उहाँले सिलिण्डर ग्यासलाई प्रतिस्थापन गर्ने उद्देश्यअनुरूप काम गरेको उद्घोष गर्नुभएको थियो । तर सञ्चालनमा आएको तीन वर्ष नबित्दै प्लान्ट बन्द भएपछि उपभोक्ताको उत्साह अहिले निराशामा परिणत भएको छ ।

एलपी ग्यासको तुलनामा सस्तो र गुणस्तरीय गोबर ग्यासबाट खाना पकाएका स्थानीय ३२ वटा घरका उपभोक्ता दुई वर्षयता पुनः सिलिण्डर ग्यास किन्न बाध्य बनेका छन् । श्रीकृष्ण गौसेवा सदनमा पालिएका दुई सय वटा गाईको गोबरबाट ग्यास उत्पादन हुन्छ ।

त्यहाँ कार्यरत १८ कर्मचारीले मेसिन बिग्रन नदिन ग्यास उत्पादनको कामलाई निरन्तरता दिएपनि पाइपलाइन फुटेका कारण उपभोक्ताको घरसम्म ग्यास पुग्न सकेको छैन । उत्पादित ग्यास त्यत्तिकै खेर गइरहेको छ । प्लान्ट पुनः सञ्चालनका लागि २५ लाख रुपैयाँ लाग्ने र त्यसका निम्ति सरकार स्वयम्ले तदारुकता देखाउनुपर्ने कर्मचारीहरु बताउँछन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया