पूर्वका धेरैजसो ठाउँको डढेलो निभ्यो, गर्मी घट्यो, वायु गुणस्तरमा सुधार हुँदै

 बैशाख २४, २०८१ सोमबार १५:३३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजोदेखि शुरु भएको वर्षाका कारण पूर्वका धेरैजसो ठाउँको डढेलो निभेको छ । हिजो बिहानसम्म उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, रामेछाप, सङ्खुवासभा, मोरङलगायतका जिल्लाका जङ्गलमा डढेलो लागिरहेकोमा आज खोटाङ र ओखलढुङ्गाका एकाध ठाउँबाहेक अन्यत्र डढेलो देखिँदैन ।

वन तथा भू–संरक्षण विभागको डढेलो अनुगमन प्रणालीका अनुसार अहिले पनि ८० भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ । तर सबैजसो डढेलो पश्चिम तराईमा रहेको र पर्सिसम्म पश्चिममा समेत पानी परेर डढेलो निभ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । हिजो परेको सामान्य पानीले कोशी, गण्डकी र बाग्मती प्रदेशका धेरैजसो डढेलो निभाएको र पर्सि बुधवारसम्म अझ ठूलो पानी पर्ने सम्भावना रहेकोले डढेलो निभाउने आशा रहेको उहाँले बताउनुभयो ।

वर्षा र डढेलो निभ्न थालेसँगै वायुको गुणस्तर पनि सुधार हुन थालेको छ । अस्ति शनिवारसम्म अत्यधिक रहेको वायु प्रदूषण हिजोदेखि केही घट्न थालेको वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले बताउनुभयो । तर पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको हावा अस्वस्थ अवस्थमामै रहेको छ ।

यसअघि काठमाण्डौमा वायु गुणस्तर मापन सूचक 'एक्यूआई' एक सय ८० हाराहारीमा रहने गरेकोमा अहिले एक सय ६० को हाराहारीमा आइपुगेको छ । वायु गुणस्तर सुधार भइरहेको र वर्षा भएमा केही दिनमा थप सुधार हुने डा. भूपेन्द्र दासले बताउनुभयो । सुधार भए पनि काठमाण्डौ अहिले पनि विश्वका ठूला शहरमध्ये प्रदूषित शहरको अग्रसूचीमै छ । बदली र वर्षासँगै गर्मी पनि घटेको छ ।

आज तराई मधेशका जिल्लाको धेरैजसो ठाउँमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा तल नै छ । केही दिन अघिसम्म ४० डिग्रीको हाराहारीमा थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया