कामको गति बढाउन मन्त्रालयहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

 मंसिर ६, २०७५ बिहिबार १५:२२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादनको गति बढाउन मन्त्रालयहरुलाई निर्देशन दिनु भएको छ । 

प्रधानमन्त्री ओलीले कार्य सम्पादन गर्दा आदेश तामेलीको भर नपर्न पनि मन्त्रालयका मन्त्री र सचिवहरुलाई सचेत गराउनुभयो । बिहीबार सिंहदरबारमा ‘शिक्षा, विज्ञान तथा प्रविधि’, ‘युवा तथा खेलकुद’, ‘संस्कृति, पर्यटन तथा नागरिक उडड्यन’, खानेपानी, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा’, ‘भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण’ र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरण सुनेपछि आदेश तामेली नभई विधिमा भर परेर कार्य सम्पादनको गति बढाउन सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको हो । 

आदेश तामेलीमा भर नपरी विधिसम्मत ढंगले कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रालयहरुलाई निर्देशन दिनु भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस अवसर प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार कार्य सम्पादन नगरेका मन्त्रालयहरुलाई दोस्रो चौमासिक समीक्षा बैठकमा उल्लेख्य कार्य प्रगति गर्न पनि आग्रह गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले अन्तरमन्त्रालय समन्वयमा जोड दिन तथा संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयलाई अझै सशक्त बनाएर विकास निर्माणको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनु भएको थियो । प्रधानमन्त्रीले सरकार एक्लैले अघि बढाउन नसक्ने कतिपय विकास आयोजनाको कामलाई निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराउनु भएको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुधबारबाट मन्त्रालयहरुको कार्य प्रगति विवरणको समीक्षा गर्न सुरु गर्नु भएको हो । उहाँले बाँकी मन्त्रालयको कार्य प्रगति विवरणको समीक्षा आइतबार गर्ने योजना बनाउनु भएको छ । बिहीबारको समिक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रालयको कार्य प्रगति विवरण निराशाजनक भने नरहेको टिप्पणी गर्नु भएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया