यो सरकार जुम्रा मार्न र सिन्को भाँच्न बनेको होइन, केही दिनमै जता हेर्‍याे उतै सरकार देख्नुहुन्छ : प्रधानमन्त्री ओली

 मंसिर ११, २०७५ मंगलबार १३:४९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जुम्रा मार्न र सिन्को भाँच्नका लागि नभई देश बनाउनका लागि भएको बताउनुभयो । 

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘सरकार हरायो कहाँ छ भनेर पत्रपत्रिकामा कसैले सोधेछन् । कसैले सरकारले सिन्को पनि भाँचेन भनेको सुनियो, कसैले जुम्रा पनि मारेन सरकारले भन्ने पनि सुनियो’, उहाँले भन्नुभयो, ‘यो सरकार जुम्रा मार्न पनि होइन, अनि सिन्का भाँच्न पनि होइन यो त देश बनाउनका लागि हो ।’ 

सरकार खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले अझै देख्नु भएन भनेर प्रतिप्रश्न पनि गर्नुभयो ।  

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकार देख्नुभएन भने चस्मा लगाउनु पर्दैन, चस्मामा पावर पनि हाल्नु पर्दैन अब त तपाईँले नचाहेर पनि सरकार देख्नु हुन्छ ।’ ‘सरकार कहाँ छ भनेर श्रमजीविलाई सोध्नुस, दुख पाएका लाई सोध्नुस उहाँहरुबाट पाउनु हुनेछ सरकार कहाँ छ भन्ने जवाफ’, उहाँले भन्नुभयो । 

केही दिनमै जता हेर्यो त्यतै सरकार देखिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची काठमाडौं आउँछ त्यसले अर्को जवाफ दिन्छ सरकार कहाँ छ भन्नेहरुलाई । बाटोमा धुलो उड्न कम भएको छ । काठमाडौंको धुलो बढारिन्छ, धोइन्छ अनि थाहा पाउनुहुनेछ सरकार । कलंकी नागढुंगा सडक वर्षौँदेखि बनेको थिएन तर अहिले जानुस् धमाधम बन्दै छ । अब त जता फर्क्याे त्यतै सरकार देख्न थालेपछि आफै चुप लाग्नुहुनेछ ।’ 

प्रधानमन्त्री ओलीले सरकार श्रमजीवीको साथमा भएको बताउँदै उनीहरुको भविष्य उज्ज्वल बनाउन लागिपरेको बताउनुभयो ।

 


 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया