मलेसिया र यूएईमा दुःख मात्रै पाइयो, स्वदेशकै कामले खुशी मिल्यो

 माघ १०, २०७५ बिहिबार १६:३३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

बिमल घिमिरे, सूर्योदय नगरपालिका – ८ इलाम । 

डेढ लाख रुपैयाँ खर्चेर आफ्नै गाउँठाउँमा केही गरेको भए पनि राम्रो हुन्थ्यो होला । विदेश गएर त पैसा र समय मात्रै नाश भयो । सायद मलाई यस्तो सोच आजभन्दा पाँच वर्षअघि नै आएको भए विदेशको दुःख भोग्नै पर्दैन थियो होला । 

२०७० सालको कुरा हो, त्यतिबेला म १९ वर्षको भएको थिएँ । एसएलसी पास भएपछि कमाउन विदेश जाने सोच आयो । मलेसिया जाने भइयो । मलेसिया जान मैले एक लाख ६० हजार रुपैयाँ बुझाएँ म्यानपावरलाई । 

काम होटलमा पर्‍यो । जाने बित्तिकै त सबै नेपालीको समस्या त्यही त हो भाषा नबुझिने, काम पनि नजानिने । किचेनमा सहयोगीको काम गरें । केही समयपछि कुक हुन पाइयो । एक त असुरक्षित ठाउँ, त्यसमाथि हामी सोझा नेपाली । सबैले हेप्ने । 

बिहानै उठ्यो । काममा गयो । अनि बेलुका आयो, सुत्यो । फेरि भोलिपल्ट बिहानै उठ्यो अनि काममा गयो । साह्रै दिक्क लान्ने रहेछ । आफ्नो घरपरिवार छाडेर टाढा हुनुपर्दा एक्लो महशुस हुन्थ्यो । गाउँघरमा मनाइने चाडबाडको साह्रै याद आउँथ्यो । 

जे भए पनि तीन वर्ष त बस्नै पर्‍यो । डेढ लाख रुपैयाँ त ऋण नै थियो । त्यसको ब्याज पनि । महिनाको ३० हजार रुपैयाँ त थियो तलब । त्यसबाट कति ऋण तिर्नु, कति आफूलाई राख्नु, कति परिवारका लागि खर्च गर्नु । पाँच लाख रुपैयाँ कमाएको थिएँ, तीन वर्षमा । 

करार अवधि सकिएपछि २०७३ सालमा घर फर्किएँ । घर फर्किएर के गर्ने भन्ने भयो । ६ महिना जति यसै बसें, अनि त्यसपछि यूएई गएँ । यूएई जानका लागि पनि एक लाख ३० हजार रुपैयाँ तिरेको थिएँ म्यानपावरलाई । 

यूएई जाँदा मलेसिया जाँदाको जस्तो अन्यौंल थिएन । किनभने कुककै काम हुन्छ भनेको थियो म्यानवारले । मलेसियामा तीन वर्ष त्यही काम गरेकाले काम गर्न सक्नेमा ढुक्क थिएँ । 

तर त्यहाँ पग्दा त काम अर्कै पर्‍यो । बगैँचामा सफा गर्न पर्ने । त्यहाँको गर्मीमा बाहिरको काम ! भनेको जस्तो काम र तलब नभएपछि म दुई महिनामै स्वदेश फर्किंएँ । 

यूएई जाँदा मलेसियामा कमाएर ल्याएको पैसा पनि सकियो । घरमा आम्दानीको बाटो नहुँदा राम्रोसँग पढ्न पाइएन । बरु कमाएर केही गर्नु भनेर भविष्य सोचेर नै गएको थिएँ । विदेश त्यस्तै भयो । लाखौं खर्चेर विदेश गएँ, तर केही भएन ।

घर आएर यसै बसिरहेको थिएँ । झापामा मःम बनाउने ठाउँमा काम मिल्यो । यहाँ म मःम डेलिभरी र मार्केटिङ पनि हेर्छु । 

यहाँ काम गर्दा धेरै फाइदा हुने रहेछ बल्ल पो बुझ्दै छु । बिमार हुँदा आराम पाइन्छ । न्यास्रो लाग्दा घर जान पाइन्छ । योभन्दा बढी मलाई त के चाहियो  र !

मलेसियामा मरीमरी काम गर्दा ३० हजार रुपैयाँ कमाउँथें । तर यहाँ आरामले १२ हजार रुपैयाँ कमाउँछु । तर सबै कुरा हेर्ने हो भने यहीँको कमाइले नै जितेको छ । 
नजानेर विदेश पुगियो । कमाइभन्दा पनि दुःख बुझियो । अब यहीँ काम गर्दै पढ्ने योजना बनाएको छु । केही समय ढिलो भए पनि पढ्न छाड्दिन । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया