शिलान्यास भएको ३३ वर्ष पछि बाेगटान सडकमा डबल कटिङको काम सुरु

 फागुन १३, २०७५ सोमबार १८:२८:१३ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटी जिल्लाकोे सबैभन्दा पुरानो बाेगटान सडकमा कालोपत्रेको लागि डबल कटिङको काम सुरु भएको छ । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओलीले यहि फागुन ७ गते सडक कालोपत्रेको शिलान्यास गरेसँगै सडकमा काम धमाधम भइरहेको हो । कैलालीको सहजपुरबाट डबल कटिङको काम सुरु भएको 'सइल टेस्ट कन्सल्टेन्सी'का इन्जिनियर राजकुमार पोख्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पिच गर्नका लागि ९ मिटर चौडा सडक आवस्यक पर्ने भएकाले हामीले अहिले डबलकटिङको कार्य सुरु गरेका छौँ ।’ डबलकटिङ गर्दा अधिकांश स्थानीयका घर, खेतबारी तथा जमिनमा लगाएको बाली नष्ट हुने भएकोले काम गर्न कठिनाइ भएको इन्जिनियर पोख्रेलले जानकारी दिनुभयो ।

‘डबल कटिङ गर्दा त्यसमा चुरे गाउँपालिकाका स्थानीयका घरखेत परेका र मुआब्जा माग्दा समस्या उत्पन्न भएको छ’, उहाँले भन्नुभयो, ‘स्थानीय जनप्रतिनिधि सहित हामी बसेर छलफल गरी समस्या समाधान गर्न खोजिरहेका छौँ ।’ 

४ वर्ष पहिले भएको सर्वे अनुसार नै अहिले त्यहाँ डबलकटिङ गर्दा घर तथा खेतीबारी मासिन थालेको बोगटान गाउँपालिका बिपीनगर १ का स्थानीय रोजबहादुर कलेलले बताउनु भयो । 

कैलालीको सहजपुर देखि डोटीको बडीकेदार गाउँपालिका सम्म ५० किलोमिटर सडक ३० महिना भित्रमै पिच गर्ने लक्ष अनुसार ठेकेदार कम्पनीले धमाधम रुपमा काम अघि बढाएको हो ।

२ अर्ब ५ करोड रुपैयाँमा सडक कालोपत्रेको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिइएको छ । कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको बिपी नगरदेखि बडीकेदार गाउँपालिका सम्म २८ किमी सडक कालोपत्रे हुने भएको हो । 

सांसद प्रेमबहादुर आले मगरको प्रत्यक्ष पहलमा यो सडक पिच हुन थालेको हो । सडक पिच भए कैलालीका तत्कालीन २ र डोटीका १७ गाविसका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने सा‌सद प्रेमबहादुर आलेमगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आर्थिक समृद्धिको मेरुदण्ड मानिएको सहजपुर बोगटान सडक पिच भए जनतालाई निकै सहज हुनेछ ।’

भारतको एक्जिम बैंकको ऋण प्रक्रियाबाट नेपाल सरकारको सडक विभागले यो सडक कालोपत्रे गर्न लागेको हो । शिलान्यास भएको ३३ वर्षपछि अहिले आएर सडक  कालोपत्रे हुनलागेको कैलालीको चुरे गाउँपालिका शिवनगरका दानबहादुर बिष्टले बताउनुभयो ।

सहजपुरदेखि बडीकेदार गाउँपालिका हुँदै बोगटान गाउँपालिकाको सिमचौर भएर दिपायल जोड्ने यो सडकको  २०४२ सालमा पहिलोपटक शिलान्यास गरिएिको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया