सुदूरपश्चिमका पहाडमा १० वर्ष यताकै ठूलो हिमपात

 फागुन १६, २०७५ बिहिबार ९:७:४१ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भारी हिमपात भएको छ । यहाँका पहाडी जिल्लाहरुमा दश वर्षपछिकै ठूलो हिमपात भएको स्थानीयबासिन्दाको भनाई छ । हिमपातका कारण डोटीको जिल्ला सदरमुकाम सिलगढी आसपासका डाडाँकाँडाहरु सेताम्मे भएका छन् । 

बुधवार राति भएको भारी हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ । डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ, बाजुरा, अछाम र दार्चुलालगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै भारी हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । प्रदेश प्रहरी सञ्चार कार्यालयका अनुसार राती भारी हिमपात भए पनि अहिले भने यहाँका जिल्लाहरुमा घाम लागेको छ । 

डोटीको भिग्रना, नापानी, स्वाँणा, मछिन्तोला, बग्लेक, ग्वालादेउ, चौखुट्टे, केदार धुरालगायतका ठाउँहरुमा भारी हिमपात भएका कारण घर बाहिर निस्किन समेत समस्या भएको छ । त्यस्तै बैतडीको सतबाँझ, ग्वाल्लेक, खोड्पे, श्रीभावर, ढोल्यामोड, बाँचपानी, नाचन्थली, जित्कीजुँवाड, सिगासधुरालगायतका उच्च क्षेत्रमा भारी हिमपात भएको छ । 

डडेल्धुराको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुँखर्क, हगुल्टेलेक, महाभारत लेकका बिभिन्न ठाउँमा भारी हिमपात भएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । यहाँका पहाडी जिल्लामा एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिकालगायत प्रभावित भएका छन् । 

पटकपटक भइरहेको हिमपातका कारण पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि निरन्तर रुपमा भइरहेको वर्षाका कारण सिँचाई हुने खेतमा लगाइएको गहुँ लगायतको अन्नबालीमा भने नोक्सान हुन सक्ने दिपायलका किसान भरत कामीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पानी नलाग्ने पाखो खेतमा हिउँले उब्जनी हुने भए पनि पानी लाग्ने खेतमा लगातार हिउँ पर्दा कुहिने र नोक्सान हुने बढी सम्भावना छ ।’ 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया