विराटनगर विमानस्थलको धावनमार्ग विस्तार गर्ने प्रदेश सरकारको निर्णय

 असार १३, २०७५ बुधबार १९:४३:४७ | सुमन तिमल्सिना

मोरङ – प्रदेश एकको मन्त्रिपरिषदको बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावनमार्गसहित विस्तार गर्ने निर्णय गरेको छ । 

बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले विमानस्थलको धावनमार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने निर्णय गरेको हो ।

एक हजार ५ सय मिटर लम्बाई भएको धावन मार्ग विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जरुरी भएको भन्दै संघीय सरकारलाई पत्र पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । संघीय सरकारले विराटनगर विमानस्थलको धावन मार्ग २ हजार ४ सय मिटरमा विस्तार गर्ने तयारी थालेपछि प्रदेश सरकारले त्यसलाई ३ हजार पुर्‍याउनु पर्ने निर्णय लिइएको हो ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जनस्तरबाट चर्को दबाब आइरहेको र चुनावको बेला अधिकांश राजनीतिक दलले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने वाचा गरेकाले प्रदेश सरकारले महत्वपूर्ण निर्णय लिएको हो । यद्यपि २ हजार ४ सय मिटरको धावन मार्ग सहज विस्तार गर्न सकिने र त्यसबाट अन्तर्राष्ट्रिय उडान भर्न समस्या नहुने भएकोले सहज बाटो रोज्न पर्यटन व्यवसायीहरुले सुझाव दिँदै आएका छन् ।

मन्त्रिपरिषद बैठकले पत्रकार धु्रव सुवेदीलाई मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्ति गर्ने अर्को निर्णय गरेको छ । प्रारम्भ देखिनै मुख्यमन्त्री शेरधन राईको सञ्चारसम्बन्धी काममा सहयोग गर्दै आएका  पत्रकार सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको हो । वर्तमान मुख्यमन्त्री शेरधन राई यस अघि नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री भएको बेला पनि सुवेदी सञ्चार सहयोगीको रुपमा  कार्यरत हुनुहुन्थ्यो ।

३ वटा विधेयक संसद सचिवालयमा पठाउने

बुधबारको मन्त्रिपरिषद बैठकले तीन ओटा विधेयकलाई संसद सचिवालयमा पठाउने र दुई ओटा विधेयक तयार पारेर मन्त्रिपरिषदमा पेश गर्न सैद्धान्तिक निर्णय पनि गरेको छ । बैठकले सुशासनको प्रत्याभुति गर्ने सम्वन्धमा बनेको विधेयक २०७५, कर तथा गैह्रकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वित्त व्यवस्थापन विधेयक २०७५ सदनमा पेश गर्ने निर्णय छ ।  

यसैगरी विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया