३५ सयको बीमाले दिलायो ५० हजार

 असार १४, २०७५ बिहिबार १२:२२:४७

सिर्जना बस्नेत 

रामेछाप – वैदेशिक रोजगारमा जानको लागि सरकारले अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । तर वैदेशिक रोजगारीमा जाने परदेशीले बीमालाई आफ्नो लागि नभईल सरकारका लागि गर्नुपर्ने जस्तै गरेर झन्झटिलो मान्दछन् । 

रामेछापको डडुवाका उद्धब रानाले बुझाई पनि यस्तै थियो । उहाँले बीमाका फाइदा नबुझे पनि विदेश जाने बेलामा गरेरै जानुभयो । 

उद्धब राना परिवारका माइला छोरा । पाँच दाजुभाइ र एउटी दिदीसहितको परिवार उद्धबले एसएलसीसम्म पढ्नुभयो । उमेरले बचपना छोडेसँगै परिवारको दायित्व उहाँको थाप्लोमा थपियो ।

भाइहरुको पढाई, हेरचाह र जिम्मेवारी पनि उहाँकै काधमा आयो । गाउँघरमा खेती गरेर खानलाई प्रशस्त जमिन भए पनि उब्जाउ थिएन । भिरालो जग्गामा गोरुलाई सजिलो थिएन मोटो खोस्रिन ।

उद्धवले भिरालो माटो खोस्रिनु भन्दा परदेश जाने निधो गर्नुभयो । गाउँबाट काठमाडौं छिर्दा सबै कुरा नयाँ थिए उहाँका लागि । नयाँ ठाउँ, नयाँ मान्छे त्यो भन्दा पनि नयाँ सपनाले उद्धवलाई निदाउन दिएको थिएन ।

होटलमा कुकको काम सिकेर राम्रो कुक बन्ने सपना अध्यारोमा चम्केका तारा भन्दा पनि दिउँसै चम्केको घामको राप जस्तो तेजिलो थियो मुटुमा । उमेर छिप्पिदै थियो दिनदिनै । उमेरसँगै उहाँले राम्रो कुक बन्ने सपना पनि पुरा गरीसक्नु भएको थियो । गाउँबाट सुख खोज्न शहर पसेका उद्धवले हाँसिल गरेको सिप परदेशमा देखाउन चाहनुहुन्थ्यो । 

सन् २०१० मा होटलमा कुकको लागि राम्रो अवसर आएको खबर साथीले भनेपछि उहाँ युएईको तातो हावामा तातै खाना बनाउन पुग्नुभयो । कमाइ पनि ठिकै थियो । कमाएको पैसाले गाउँमा भाइहरुलाई हेरचाह गर्न पुगेकै थियो । झण्डै दुइ बर्ष बिताएर घर फर्किंदा गाउँमा छुट्टै रौनक थियो । 

तर उद्धबले हातको सिप गाउँमा प्रयोग गर्ने ठाउँ देख्नुभएन । युएइ हुँदै उद्धवका साथीले कतारमा राम्रो कमाइ छ आउनु भनेर खवर गरेपछि उहाँ कतार पुग्नुभयो । कतारमा पनि राम्रै कमाइ हुनु थालेको थियो । गाउँमा थोरै जमिन पनि जोड्नुभयो कतारकै कमाइले । छुट्टीमा घर आउँदा उमेर ३२ वर्ष कट्न लागेको थियो । त्यसैले बिहे गर्नुभयो । 

बिहे गरेको केही महिनामै कतारको तातो बाफमा तातै तेलसँग मितेरी गाँस्न फर्किनुभयो उद्धब । नयाँ दुलहीलाई घर जिम्मा लगाएर परदेशमा पसिना बगाउन उद्धवलाई पट्कै मन थिएन । उमेरले चालिस टेक्न धेरै वर्ष बाँकी थिएन । उमेरमै केही गर्न नसकेपछि जीवन धान्न सजिलो हुँदैन भन्ने ठानेर उहाँले मन बाध्नुभएको थियो । 

कतारमा पसिना बगाउन थालेको पाँच वर्षपछि सोचे जस्तै कमाइ हुन थालेको थियो उद्धवको । पाँच वर्षको अन्तरालमा छुट्ीमा पाँच पटक घर आउनु भयो । ‘छोटो बिदामा घर आउँदा समय खरायोको तालमा दौडिए जस्तो हुन्थ्यो अनि परदेशमा काम गर्न थालेपछि यही समय कछुवाको तालमा पाइला चाल्न थाल्थ्यो’ भन्दै ती दिन सझिन थाल्नुभयो उद्धवले । 

५ वर्ष कटेपछि भने उहाँले सधैँ परदेशमा दुख गरेर हुँदैन भन्ने सोचेर नेपालमै होटल खोल्ने योजना बनाउनुभयो । उद्धवले कतारमा कमाएको र भाइहरुको कमाइ मिलाएर भक्तपुरमा ३५ लाख बराबरको जग्गा पनि जोड्नुभयो । गएको कात्तिकमा दशैं मनाएर कतार जान एयरपोर्ट हिँडेका उद्धव एयरपोर्ट पुग्नुभएन । डडुवाबाट कार्तिक ५ गते उद्धव र उहाँको भाई मोटरसाइकलमा काठमाडौँ जाँदै गर्दा बाटोमै दुर्घटनामा पर्नुभयो । 

कार्तिक ६ गते कतार उड्ने टिकट झोलामा थियो तर उद्धव भने धुलिखेल हस्पिटलमा हुनुहुन्थ्यो । मोटरसाइकल दुर्घटनामा परी देब्रे खुट्टामा स्टिल लाउनुप¥यो । झण्डै एक महिना अस्पतालमा बसेर घर फर्किंदा उद्धव ठमठम हिड्न सक्ने अबस्थामा हुनुहुन्न थियो । बैशाखीको साहाराले बाहिर भित्र गर्दै औषधी खाइरहनु भएको छ । 

सम्झौता अवधिमै दुर्घटनामा पर्दा वैदेशिक रोजगारीका जाने व्यक्तिले बीमा बापतको रकम पाउँछन् । यस्तै कुरासँगै परदेशीलाई चाहिने धेरै कुराको जानकारी र सहयोग गरिरहेको छ चारघरे सेवा समितिले । 

संस्थाका सामाजिक परिचालक नवराज श्रेष्ठले उद्धवलाई बीमा कम्पनीबाट उपचार खर्च पाइने भन्दै त्यसका लागि संस्थाले सहयोग गर्ने बताउनुभयो । तर सुरुमा उद्धबले पत्याउनुभएन । तर केही दिनपछि केन्द्रमा सम्पर्क गरेका उद्धबका कागजात बनाउन र बीमा कम्पनीसँग समन्वय गरिदियो । 

उद्धवले विदेश जाने बेलामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट बिमा गर्नुभएको थियो । कम्पनीको उप शाखा मन्थलीले उपचार खर्च माग दाबीको लागि काठमाडौँमा फाइल पठाएको थियो । उद्धवले कतार जाँदा ३५ सय १० रुपैयाँ तिर्नुभएको थियो बीमाका लागि ।

त्यही बीमाले उद्धबलाई ४९ हजार ९ सय ८६ रुपैयाँ दिएको छ । आफूलाई थाहै नभएको अनि विश्वासै नगरेको कुराबाट पैसा पाएका उद्धबलाई यसले राहत दिएको छ । 

उद्धब अझै पनि उकालो ओरालो गर्न सक्नुहुन्न । उँहाको जीवनमा घटेको घटनासँगै भावी योजना समेत बदलिएको छ । ‘परदेशमा भन्दा पनि देशमै केही गर भनेर भगवानले बाटो छेकेको होला अब गाउँमै होटल खोल्छु’ योजना सुनाउँदा आफ्नो खुट्टोमा स्टिल छ भन्ने बिर्सिनुभएको थियो उद्धबले । 

तर विदेश जाने अनि बिदामा आएर फर्किन लागेकाहरुलाई श्रम स्वीकृति र बीमा गर्ने सुझाव दिन भने बिर्सिनुभएन । ‘प्रायले यस्ता कुरा ख्याल गर्दैनौं तर ख्याल गर्नुपर्ने रहेछ’ उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Parkash bohara

    June 28, 2018, 2:10 p.m.

    बिदेश जाने युवा हरु संग दिनहु बिमाको नाम बाट पचासौं लाख को आम्दानी गर्ने बिमा कम्पनी ले अहिले एकजाना लाई उनपन्चास हजार बिमा फोटोखिचाउनु लाज लागेन कि ?? बिदेश जाने अधिकान्स सबै युवा बिमा गरेर जान्छन् बिमा गर्ने मन नहुदा पनि जबरदस्ती बिमा गराइन्छ अरबौं रु असुलिन्छ तर एक जाना लाइ जाबो 49 हजार दिदा कस्तो मज्जाले फोटो खिचाउदै छन् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया