अर्घाखाँचीमा सम्बन्ध विच्छेद बढ्दो: भदाैदेखि अहिलेसम्म २९ पुरुषद्वारा मुद्धा दर्ता

 बैशाख ६, २०७६ शुक्रबार १४:५२:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

सन्धीखर्क - प्रेम विवाह र वैदेशिक रोजगारीका कारण अर्घाखाँचीमा सम्बन्ध विच्छेद गर्ने दम्पतीको संख्यामा वृद्धि भएको छ ।

सम्बन्ध विच्छेद गर्नेमा ८० प्रतिशत भन्दा बढि ३० वर्षभन्दा कम उमेरका रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्धाहरुमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । यस आर्थिक वर्षको साउनदेखि अहिलेसम्म जिल्ला अदालत अर्घाखाँचीमा २ सय ३५ मुद्धा दर्ता भएकोमा १ सय ९ वटा मुद्धा सम्बन्ध विच्छेदका रहेका जिल्ला अदालतका श्रेस्तेदार गम्भीर घिमिरेले बताउनुभयाे ।

उहाँका अनुसार सम्बन्ध विच्छेदका मुद्धा अघिल्लाे वर्षभन्दा झण्डै २५ प्रतिशतले बढेका छन् । अदलतमा आएका मुद्धामध्ये ४६ प्रतिशतभन्दा बढी सम्बन्ध विच्छेदका छन् । 

सम्बन्ध विच्छेदका लागि पुरुषहरुकाे आवेदन

भदौ १ गतेदेखि नयाँ कानुन आएपछि २९ जना पुरुषहरुले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गरेको श्रेस्तेदार घिमिरेले बताउनुभयाे । अदालतमा दर्ता भएका मुद्धामध्ये १ सय २० मुद्धा फैसला भएका छन् । अहिलेको तथ्यांकलाइ हेर्दा मुद्धा फैसलामा पाँच नम्बर प्रदेशमै अर्घाखाँची प्रथम रहेको पनि घिमिरेले जानकारी दिनुभयाे । सम्बन्ध विच्छेदपछि अंश मुद्धा, माना चामल, जबरजस्ती करणी आदिका मुद्धा बढी रहेका छन् । 

प्रेम विवाह,  श्रीमान बिदेसिएको समयमा श्रीमतीहरुको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका, उपशंका गर्नु र घर परिवारमा मेलमिलाप नहुनु, दिनहुँ झै-झगडा हुनु  आदि सम्बन्ध विच्छेदको प्रमुख कारण बन्न पुगेको हो । 

सूचना प्रविधिको बढी प्रयाेग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध , छोरी छोराको चाहना विपरीत घर परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको मानिससंग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु , घर-परिवार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको अधिवक्ता तथा प्राध्यापक जगन्नाथ भुसालले बताउनुभयाे ।

 उहाँका अनुसार सूचना प्रविधिको पहुँच बढी हुनु र विलासी जीवन बाँच्ने चाहना राख्नुले पनि सम्बन्ध विच्छेदका घटना बढेका हुन् ।  

सम्बन्ध विच्छेद गर्नेमा अधिकांश  ३० वर्षभित्रका रहेका छन् । जिल्लाको अवस्था हेर्दा अन्य धेरै कारण भए पनि प्रेम विवाह र वैदेशिक रोजगारीका कारणले नै सम्बन्ध विच्छेदका घटना बढी हुने गरेको दखिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया