कतारमा वर्षको एक लाख बचाउने हरि महिनामै लाख कमाउँछन्

 असार १६, २०७५ शनिबार ११:४४:११

लोकमणि रिजाल

खोटाङ – २०५५ साल तिर निर्मलीडाँडाको ४ पाथीको धानको बिउ रोप्ने खेत अनि भैंसी बेच्दा हरि लुइँटेलसँग ५५ हजार रुपैयाँ जम्मा भयो । त्यो पैसा उहाँले कुनै व्यावसायमा लगाउनुभएन । कमाउन विदेश जाने सोचेर म्यानपावरलाई बुझाउनुभयो । 

विदेश जाने उहाँको तयारी पहिल्यैदेखिको थियो । त्यसैले पहिल्यै नै होटल सम्बन्धी तीन महिने तालिम लिनुभएको थियो । महिनाको ५ हजार रुपैयाँ तिरेर तीन महिना तालिम लिएका हरिले होटलमै जान पाए राम्रो कमाउन सक्थें भन्ने सोच्नुभयो ।

म्यानपावरले वेटरको काममा तलब राम्रो हुने अनि ओभरटाइम पनि हुन्छ भनेपछि म्यानपावरलाई ५५ हजार रुपैयाँ तिर्नुभयो अनि कतार जानुभयो । वेटर हुने सपना लिएर कतार पुगेपनि हरिले त्यो काम पाउनुभएन ।

उहाँले त घर बनाउने सिमेन्टको ब्लक ओसार्ने काम पाउनुभयो । पछि भनेकै काम पाइन्छ कि भन्ने आशामा ६ महिना त्यही काम गर्नुभयो तर पनि काम परिवर्तन नभएपछि उहाँले नेपाल फर्काइदिन आग्रह गर्नुभयो । तर कम्पनीले नेपाल फर्किन दिएन । त्यो उहाँका लागि जिन्दगीको महत्वपूर्ण बाटो भइदियो ।

६ महिनामा उहाँले भाषा सिक्नुभयो अनि कम्पनीमा साहुसँग छलफल गरेर पेप्सी उत्पादन गर्ने कम्पनीमा सेक्युरिटी गार्डको काम पाउनुभयो । ‘काम सजिलो थियो तर चुनौती धेरै थिए’ हरि भन्नुहुन्छ । खटाई पनि धेरै थियो उहाँको ।  त्यस बापत उहाँले ५ सय रियाल कमाउनुहुन्थ्यो । त्यसमा पनि त्यसैबाट खानुपर्ने भएकाले महिनामा नेपाली ८ हजार रुपैयाँ मात्रै बच्थ्यो । 

पैसा कमाउने उद्देश्य लिएर गएको तर तीन वर्ष बस्दा पनि उहाँले त्यो उद्देश्य पूरा गर्न सक्नुभएन उहाँले । त्यसैले पटक पटक गरेर १० वर्ष विदेशमा बिताउनुभयो । उहाँले कमाएको पैसा सबै घर पठाउनुहुन्थ्यो अनि उहाँको बुवाले बचत गरेर राखिदिनुभएको थियो । ‘१० वर्षपछि फर्किएर हिसाब गर्दा मैले वर्षको एक लाख रुपैयाँका दरले पैसा पठाएको रहेछु’ हरि भन्नुहुन्छ । 

त्यसपछि उहाँले खोटाङमै केही गरेर बस्ने योजना बनाउनुभयो । ‘यस्तै योजना बनाउनेहरु धेरै फेरि विदेश फर्किएको देखेको अनि सुनेको पनि थिएँ, त्यसैले मनकामना पुगेरै विदेश नजाने अनि यहीँ केही गर्ने प्रण गरें’ उहाँले भन्नुभयो । 

बुवाले बचाएर राखिदिनुभएको १० लाख रुपैयाँले उहाँले सुरुमा दिक्तेलको भवनगैरामा घर भाडामा लिएर होटल सुरु गर्नुभयो । त्योसँगै गाडी पनि किन्नुभयो । अनि उहाँले निर्मलीडाँडामा आवासीय विद्यालय पनि लाइरहनुभएको छ । 

होटल, कृषि फर्म, दूध डेरी सञ्चालन गरिरहेका हरिले अहिले त दिक्तेलमा  आफ्नै घर बनाउनु भएको छ र गाडी पनि सञ्चालन गरिरहनुभएको छ । विदेशमा रहँदा थोरै कमाई भएपनि बचत गरेकाले  नेपालमा व्यावसाय गर्न सकेको उहाँको दाबी छ । यसबाट अहिले उहाँले महिनाको एक लाख रुपैयाँ भन्दा धेरै कमाइरहनुभएको छ । 

राम्रो कमाउन थालेपनि उहाँलाई विदेश गए भनेको काम नपाउँदाको क्षण अझै पनि झल्झल्ती आउँछ । ‘वेयटरको काम नपाएर ब्लक बोक्नु पर्दा बिहे गरेर दुई महिनामै छोडेर गएकी श्रीमतीलाई सम्झिएर रुन्थें त्यो पनि गाडीमुनि बसेर’ उहाँले सम्झिनुभयो । 

कुनै समय काम खोज्दै विदेशिएका हरिले अहिले त १० जनालाई रोजगारी दिनुभएको छ । कामदार राखेपनि उहाँ पनि दिनभरि उहाँहरुसँगै खट्नुहुन्छ । त्यसैले महिनाको एक लाख रुपैयाँ कमाउन सम्भव भएको उहाँको भनाई छ । 

अहिले त उहाँ रोजगारीका लागि विदेशनै जानु नपर्ने निष्कर्षमा पुग्नुभएको छ । ‘यहीँ पनि आम्दानीका बाटा त रहेछन नी त ’ उहाँ भन्नुहुन्छ ‘तर त्यसका लागि लगानी गर्ने पुँजी भने हुनुप¥यो ।’ त्यसका लागि विदेश गएकाहरुले परदेशको कमाइ जोगाउनु पर्ने उहाँको भनाई छ । त्यस्तै काम गर्नेहरुलाई दुःख भएपनि अभाव चाहीँ नहुने उहाँको बुझाइ छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया