मदिराको जरिवानाबाट ४ वटा काठेपुल निर्माण

 असार २०, २०७५ बुधबार १४:८:५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको साइपाल गाउँपालिकाले मदिरा सेवन र बिक्री वितरण गर्नेहरुबाट उठाएको जरिवानाले खोला–नदीहरुमा काठेपुल निर्माण गरेको छ ।

यार्सागुम्बा संकलन क्षेत्रमा झैझगडा नहोस् भनेर मदिरा बिक्री वितरण गर्ने कार्यमा गाउँपालिकाले रोक लगाएको हो । 

साईपाल गाँउपालिकाले यार्सा संकलन क्षेत्रमा मदिरा बिक्री गर्नेलाई पहिलो पटक ५ हजार र फेरी पनि उसैले विक्री गरेको भेटिएमा १० हजार जरिवाना तोकेको छ । 
त्यस्तै मदिरा सेवन गरी होहल्ला गर्नेलाई पहिलो पटक २ हजार ५ सय र अर्काे पटक पनि त्यही व्यक्तिले त्यसो गरेको पाइएमा ५ हजार जरिबाना तोकेको छ ।

मदिरा सेवन गरेका कारण संकलन क्षेत्रमा झै झगडा हुने र सामान्य झगडा पनि दुर्इ पक्ष भएर ठूलो रुप लिने गरेको विगतका घटनालाई हेरेर मदिरा बन्द गरिएको काँडा गाउँपालिकाकी उपाध्यक्ष कल्पना बोहराले बताउनुभयो । 

दुई महिनाको अवधिमा मदिरा सेवन गर्ने र बिक्री वितरण गर्ने १६ जना भन्दा बढीलाई जरिवाना गरिएको र जरिवानाबाट संकलित रकमले त्यहाँका विभिन्न खोला र नदीमा ४ वटा काठे पुल निर्माण गरिएको स्थानीय जसवीर बोहराले बताउनुभयो । 

यार्सा संकलन क्षेत्र व्यवस्थापन समितिले मदिराको कारोबार गर्ने र सेवन गर्नेबाट करिब ५० हजार भन्दा बढी जरिवाना असुल गरेको जनाएकाे छ । साथै त्याे रकमले सेतीका सहायक नदीहरु राइढुङ्गी, ल्यान्टर, दोगाडे र दोतलेमा काठको पुल निर्माण गरिएको पनि बोहोराले जानकारी दिनुभयो । 

संकलन क्षेत्रका खोला तथा नदीमा पुल नहुँदा बर्सेनि धेरै संकलक बग्ने गर्थे ।

त्यहाँका अर्का स्थानीय बसन्त बोहराले भन्नुभयो,‘पाटन गएको मान्छे सकुशल घर नफर्केसम्म चिन्ता लागिरहन्थ्यो । धेरै मान्छे बग्ने खोलाहरुमा गाउँपालिकाले काठेपुल बनाएपछि अहिले ढुक्क हुने अवस्था आएको छ ।’ 

यार्सा संकलन क्षेत्रका विभिन्न खोला र नदीहरुमा तीन वर्षको अवधीमा १५ जना भन्दा बढीको बगेर मृत्यु भैसकेको छ । यसरी बर्सेनि संकलक बगेर मर्ने भएकाले जरिवानाको रकमबाट पुल निर्माण गरिएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बढी खतरा हुने खोलाहरुमा ३-४ वर्षसम्म चल्ने काठे पुल बनाएका छाैं । झोलुङ्गे पुलको लागि पनि पहल भइरहेको छ ।’ 

मदिरा बन्द भएका कारण अहिले गत वर्षहरुमा जस्तो झैझगडा भएको छैन ।

साइपाल गाउँपालिकालाई आफ्नो कार्यकाल भित्रै मदिरामुक्त र झोलुङ्गे पुल युक्त गाउँपालिका बनाउने योजना रहेको पनि अध्यक्ष धामीले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया