अदुवाको भाउ दोब्बरले बढ्याे, पूर्वी पहाडी जिल्लाहरुका किसान उत्साहित

 असार १४, २०७६ शनिबार १५:२९:१९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पूर्वी पहाडी जिल्लाहरुबाट उत्पादन हुने नगदे बाली अदुवाको भाउ सिजनको सुरुमै अघिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । अदुवाको भाउ बढेसँगै किसानहरु उत्साहित भएका छन् ।

गएकाे वर्ष  प्रतिमन (४० केजीको) २ हजारमा बिक्री भएको अदुवा यो वर्ष सिजनको सुरुमै ६ हजारसम्म पुगेको कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताउनुभयो । फाल्गुन र चैतमा रोपिएको अदुवाको माउ निकाल्ने(खन्ने) समय हुनलाग्दा अदुवा किन्नका लागि व्यापारीहरु किसानहरुको घर–घरमा पुगिरहेका छन् ।

अदुवाको माउ असार अन्तिमदेखि साउन र भदौमा  निकालेर बेच्ने गरिन्छ । पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवाको मुख्य बजार भारत हो । यहाँ उत्पादित अदुवा ९० प्रतिशत झापाको काकडभिट्टा नाका हुँदै भारत निर्यात हुने गर्दछ भने १० प्रतिशत बंगलादेशमा निर्यात हुँदै आएको छ ।

अघिल्ला वर्षहरुमा अदुवाको भाउ धेरै घट्नुका साथै निकासीका क्रममा भारतीय पक्षले अवरोध खडा गरेपछि किसानले घाटा खाँदै आएका थिए । यस वर्ष भने सिजनको सुरुमै राम्रो भाउ आएकाले यस्तो समस्या नदोहोरिने आशामा बसेको पाँचथर कुम्मायक–४ का किसान लेखनाथ खनालको भनाइ छ ।

तस्बिर: सुजाता सुनुवार

यसवर्ष माउ निकाल्ने सिजनमा प्रतिमन ६ हजार ५ सय पुगेको छ, तर  भारतीय बजारमा निर्भर अदुवाको बेलाबेलामा हुने भाउको उतारचढावले गर्दा सोचेअनुसारको उत्पादन गर्न भने नसकिएको खनालको भनाइ छ ।

अदुवाको माउ झिक्ने बेलामै राम्रो भाउ आएकाले उत्साहित भएको सराङडाँडाका किसान योग तिलमाया भण्डारीले बताउनुभयाे । अघल्लाे वर्ष प्रतिमन १५ सयका दरले २० मन बेचेको उहाँले सुनाउनुभयाे । याे वर्ष पनि त्यसरी नै उत्पादन भएमा राम्रो आम्दानी हुने भण्डारी बताउनुहुन्छ ।

कुम्मायक र हिलिहाङ गाउँपालिका अदुवा उत्पादनको पकेट क्षेत्र मानिन्छ । जिल्लाभरमा ९ सय ४५ हेक्टर जमिनमा अदुवा खेती गरिने तथ्याङक छ । तथ्याङक  अनुसार अघिल्लो वर्ष ७ हजार ५ सय ६० मेट्रिक टन अदुवा उत्पादन भएको थियाे ।

तस्बिर: सुजाता सुनुवार

यस्तै पूर्वी पहाडी जिल्लामध्ये सबैभन्दा बढी अदुवा उत्पादन हुने जिल्ला मानिएको इलाममा पनि अदुवाको भाउ बढेपछि यहाँका किसान उत्साहित बनेका छन् । 
इलाम जिल्लामा ३ हजार २ सय ३३ हेक्टर जमिनमा अदुवा खेती गरिन्छ । जिल्लाभरमा अघिल्लो वर्ष ४५ हजार ८ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको तथ्याङक रहेको छ ।

इलामका पहिलेका पुवामझुवा, नाम्सालिङ्ग, साङ्रुम्बा, जमुना, चमैता, प्याङ्ग, सोयाक, धुसेनी, माइपोखरी, सोयाङ्गलगायतका ठाउँहरुमा व्यावसायिक अदुवा खेती गरिने जिल्ला कृषि ज्ञान केन्द्रको कार्यलय इलामले जनाएको छ । 

इलामबाट सुजाता सुनुवारकाे सहयाेगमा

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया