चट्याङ लागेर भेडा गुमाएका किसानलाई प्रदेश सरकारले दियाे २८ भेडा

 असार १६, २०७६ सोमबार २०:३५:४३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दूधपोखरी गाउँपालिका-१ मलेया डाँडामा रहेको घुम्ती भेडीगोठलाई गण्डकी प्रदेश सरकारले २८ वटा भेडा सहयोग गरेको छ । 

गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर ‘पतिपुरे सामुदायिक भेडापालन समूह’को भेडीगोठका २८ वटा भेडा मरेका थिए । ‘आकस्मिक सेवा टेवा’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले २८ वटा भेडा दिएको हो ।  

गण्डकी प्रदेश सरकारले दुई लाख ८० हजार रुपैयाँ खर्चेर राहतस्वरुप घुम्ती भेडीगोठलाई २८ वटा भेडा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घुम्ती भेठीगोठ सञ्चालक किसानहरुले ५ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण बुझाएका थिए । 

गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले लमजुङको जोर्नेमा आयोजित राहत वितरण कार्यक्रममा भेडापालन समूहका सचिव तुलाराम गुरुङलाई भेडा प्रदान गर्नुभएको थियो । ‘चट्याङबाट गोठका २८ भेडा मरे । किसानलाई सरकारले राहतस्वरुप भेडा नै प्रदान गरेको छ,’ उहाँले भन्नुभयो, ‘यसले घुम्ती भेडीगोठलाई जगाउन थप सहयोग पुर्याएको छ ।’

मासु, ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भएकाले भेडापालन व्यवसायमा लाग्न उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । ‘घुम्ती भेडीगोठ हराउँदै गएको छ । यसलाई जोगाउँदै व्यावसायिक रुपमा भेडापालन गर्न सके राम्रो कमाउन सकिन्छ । भेडापालनका लागि सरकारले सहयोग गर्छ,’ उहाँले भन्नुभयो । 

‘चट्याङले धेरै भेडा मरे । हामी चिन्तित थियौँ,’ भेडापालन समूहका सचिव तुलारामले भन्नुभयो, ‘भेटेरिनरी अस्पतालको पहल र प्रदेश सरकारको सहयोगमा राहतस्वरुप भेडा नै पाउँदा खुशी छौँ ।’ उहाँका अनुसार प्राप्त भेडा भेडीगोठमै लगेर पालिनेछ । 

केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार लमजुङको दूधपोखरी गाउँपालिका-६, र दोर्दी गाउँपालिका-५ का किसानहरुले संयुक्त रुपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी घुम्ती भेडीगोठमा भेडापालन गर्दै आएका छन् ।

स्थानीयले सञ्चालन गरेको भेडीगोठमा ६ सय ४० बढी भेडा रहेका छन् । दूधपोखरी गाउँपालिकाको ओखारी, साल्मे, भीरकुना र दोर्दी गाउँपालिकाको सिम्रुङ र पाचोकका गरी २५ जना बढी किसानले यसै घुम्ती भेठीगोठमा भेडा पाल्दै आएका छन् । योे भेडीगोडमा चार जना भेडीगोठाला रहेका छन् ।

दूधपोखरी गाउँपालिका, पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङका अनुसार स्थानीय किसानले भेडीगोठमा भेडा पाल्न दिन्छन् । उत्पादन बेचेर आएको निश्चित रकम भेडीगोठालाले लिन्छन् । बाँकी रकम भेडा धनीलाई बुझाउँछन् । उहाँका अनुसार दूधपोखरी गाउँपालिकामा १० वटा भेडीगोठ रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया