पानी माग्न नौमती बाजासहित तमोर !

 असार २०, २०७६ शुक्रबार १६:३२:४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको दक्षिणी क्षेत्रमा असारको अन्तिम समयसम्ममा पनि पानि नपरेपछि दुई गाउँपालिकाका किसानले बारीमा लगाएको मकै सुक्न थालेको छ ।

कुम्मायक र तुम्बेवा गाउँपालिकाका बारीमा लगाइएको मकै सुक्न थालेको हो । यी दुई गाउँपालिका सुखाग्रस्त क्षेत्र हुन् । अत्याधिक सुख्खा खडेरीका कारण फाल्गुन र चैतमा लगाइएको मकै फल नलाग्दै बोटमै सुक्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । यहाँ उत्पादन हुने मुख्य खाद्यन्न बाली मकै हो ।

वैशाखको अन्तिम सातादेखि पानी नपरेपछि यहाँको  जनजीवन कष्टकर बनेको छ । गएको वर्ष खडेरीले केही ठाउँमा मात्र बाली सखाप भएको तर यस वर्ष भने गाउँपालिकाभरिका सबै बालीनाली मर्न थालेको तुम्बेवा गाउँपालिकाका अध्यक्ष होम थापाले बताउनुभयो । खडेरीले मकै बालीसँगै रोप्नका लागि राखिएको कोदोको बीउ पनि मर्न थालेको छ ।

खडेरीले किसानले बारीमा लगाएका मकैबाली सखाप हुनुका साथै गाउँपालिकामा पानीको हाहाकारसमेत मच्चिएको अध्यक्ष थापाको भनाइ रहेको छ । तीन वर्षदेखि यो समस्या झेल्दै आएका यहाँका नागरिकलाई खानेपानीका लागि गाउँपालिकाले ट्यांङकरबाट पानी ओसारेर बाँड्ने गरेको छ । घरपालुवा जनावरलाई खुवाउन पानीको समस्या रहेको स्थानीय बताउँछन् ।

खडेरीले बारीमा लगाएको मकै फलै लाग्न नसक्नेगरी सखाप भएको स्थानीय शिक्षक सहरसिं तामाङले बताउनुभयो । अब हप्तादिन पानी परेन भने बारीमा मकैको बोटनै नरहने उहाँको भनाइ रहेको छ । 

पानी माग्न नाैमती बाजासहित तमाेर

यस्तै कुम्मायक गाउँपालिकामा पनि खडेरीले मकैबाली सखाप भएको छ । लामो समयसम्मको खडेरीले मकैबाली सखाप पारेपछि यहाँका किसानले पनि स्थानीय सरकारसँग राहतको माग गरेका छन् । 

लामो समयसम्म पानी नपरेर खडेरी परेपछि कुम्मायक गाउँपालिका बासिन्दाहरु नौमती बाजासहित नजिकै रहेको तमोर नदीमा पुगेर पानी मागेका छन् ।  यासोक, रानीगाँउ र स्याब्रुमबाका बासिन्दाहरु पानी माग्न तमोर नदीमा पुगेका हुन् ।

खडेरीले बालीनाली सखाप हुनुका साथै गाउँ नै काकाकुल बनेपछि स्थानीयहरु नौमती बाजा, सनाईसहित तमोर नदीमा पुगेर पानि मागेका गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताउनुभयो । यहाँका बासिन्दाहरु लामो समयसम्म पानी  नपर्दा तमोर नदीमा गएर पानी माग्ने गर्दछन् । तमोरमा गएर पानी माग्दा पानी पर्ने जनविश्वास रहेको छ ।

पानी अभावकै कारण बर्सेनि बसाइँ सर्नेको संख्या बढ्यो

तुम्बेवा गाउँपालिकाको झण्डै २९ सय घरधुरीमा १३ हजार ५ सय जनसंख्या छ । पानी अभावकै कारण यहाँका स्थानीयहरु बसाइँ सर्न थालेका छन् । वार्षिक ४० देखि ५० परिवारले बसाइँ सरेर जाने गरेको गाउँपालिकाको तथ्याङ्क छ । 

यस्तै कुम्मायक गाउँपालिकामा पनि पानी अभावकै कारण बसाइँ सर्नेको संख्या बढेको छ । गाउँपालिकामा अघिल्लो वर्ष चार सय ९० जनाले गाउँ छाडेर अन्तै बसाइँ सरेका छन् ।

कुम्मायक गाउँपालिकाले डिप बोरिङबाट पानी निकालेर वितरण गर्दै आएको छ । तर, डिप बोरिङमा पनि बारम्बार समस्या आएका कारण प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया