‘नेपालमै काम गरेर थला परेको सरकारलाई तन्दुरुस्त बनाउन मन छ’

 असार २२, २०७६ आइतबार १८:३१:३६ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

भोजराज घोडासैनी । सुर्खेत, हाल कोरिया ।

कोरिया गएपछि के–के न हुन्छ भन्नेहरु धेरै छन् । धेरैले कोरिया जाने सपना बुन्छन् । तर सोचेजस्तो छैन कोरियामा । कोरियामा निद्रा लाग्दैन । त्यसैले सपना देख्ने त कुरै भएन । यहाँ मान्छेलाई जति पीडा छ, त्योभन्दा पनि बढी सपनाहरुको आर्तनाद छ ।

केही वर्षयता कोरियामा घटेका अनेक घटनाको म साक्षाी बनेको छु । मभित्र पनि डर, पीडा, त्रास र देशको माया छ । तीन वर्षदेखि दर्जनभन्दा धेरै साथीहरू बाकसमा फर्किए । फर्किए के भन्नु, फर्काइए । 

मिल्ने भए केवल एकपटक मात्रै ती मित्रहरूलाई आफ्नै माटोमा देह त्याग्नु भनेर हवाइजहाजकाे भाडा दिएर पठाउन मन थियो । तर सोचेजस्तो कहाँ हुन्छ र ? कतिले यतै ज्यान गुमाउनुपर्‍याे ।

सँगै अंगालो मारेर फर्किने रहर, रहर मात्रै रह्यो । मन त त्यति मात्रै हैन, यो त पीडामा बहकिएर बोलेको शब्द हो । आफ्नै भूमीमा पाइला टेकेर हिमालको शीर आउने गरी सेल्फी खिच्ने रहर कल्पनामै सीमित रह्यो ।

सपना देख्नको लागि निदाउन जरुरी छ ।  जो नेपालमा नै छुट्यो । सामाजिक सञ्जाल र पत्रपत्रिकाले परदेशका कथा भनौं या व्यथा अन्य सबै समाचार भन्दा बढी नबनाएका हैनन् । तर कसले सुन्ने ? के नेपालमा सरकार छ र ? छ होला, तर नागरिकप्रति उत्तरदायी छ र ? उत्तरदायी पनि होला, के नागरिकका समस्या चिनेको छ ?

केही महिनाअघि एकजना साथीलाई मानसिक असन्तुलनको कारण देखाउँदै सकुशल देश पठाउन सकियो । जे होस् देशको माटो टेकाउन पाइयो । हामीलाई यसमै सन्तोष मिल्यो । कमसेकम त्यस्तो अवस्थामा उ घरमा त जान पायो नि ।

परदेशमा सबैका सपना फुल्दैनन् ।  कतिका मर्छन् त कतिका सपनाले निम्त्याएका अनेक कहर छन् । सपना, अमूल्य जीवन र अनमोल समय कसरी लेखाजोखा गर्दै खुशी हुन सकिन्छ र ? 

दुई वर्ष अगाडिको कुरा हो । म घरबाट कोरिया आइपुगेको केही महिना मात्रै भएको थियो । मेरो एक साथीको दुर्घटनाबाट ज्यान गयो । कोरियास्थित नेपाली दूतावासको पहलमा शव घर पुर्याइयो । हामी त्यो बेला पनि खुशी नै हुनुपर्यो । सास नभए पनि लाश घर पुग्यो भनेर ।

श्वास यस्तै रहेछ मौरीले घार छोडे जस्तो कतिबेला छाड्छ केही पत्तो नहुने । श्वास नभएको शरीरर त कुहिएर जाने त हो ।

यी त प्रतिनिधि घटना मात्र हुन् । तर समस्या यी दुई पात्रमा मात्र सीमित छैनन् । शारीरिक अंगभंग हुनेको संख्या गनेर साध्य छैन । शारीरिक अंगभंगको नाजुक व्यथा किन कोट्याउनु खाटा बसेको छ । चलायो भने फेरि बल्झन्छ। 

हामीमा जस्तोसुकै घटना हाेस् दुख्न छोडी सक्यो । दुख्ने ठाउँ भए पो दुख्छ । दुख देख्ने कोही भए पो दुख्यो भन्नु । अहिले छिमेकबाट विषादीले भरिएका तरकारी र फलफूल देशमा भित्रिदै छन् । यसको असर त सर्वसाधारण नागरिकलाई नै त पर्ने हो नि, नेता र ठूलाबडाले त पाँचतारे होटेलको खाना खाएर भूँडी भरी हाल्छन् । नागरिकको पीडा कसले बुझ्ने ?

ए सरकार !  हामीलाई स्वादेशमा नै केही गरी खाने वतावरणकोे सिर्जना गर्ने कहिले हो ?  हामीले दुईछाक टार्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ ?
हामीलाई पनि आफ्नै देशमा काम गर्न मन छ । तर कामको मूल्य हुनुपर्यो । उत्पादित सामानले बजार पाउनुपर्यो । गफ गरेर मात्र हुँदैन । 

हामी आफ्नै देशमा पसिना बगाउन तयार छौँ । देशको नागरिकलाई अर्गानिक तरकारी र फलफूल खुवाउन मन छ । नागरिकलाई मात्र होइन थला परेको सरकारलाई पनि तन्दुरुस्त बनाउन मन छ ।

अन्तिम अपडेट: मंसिर २५, २०७६

तपाईको प्रतिक्रिया