कोशी ब्यारेज, ५६ ढोका र राता बत्तीको वास्तविकता

 असार ३०, २०७६ सोमबार ११:२३:३ | सुमन पुरी
unn.prixa.net

सुनसरी - शनिबार मध्याह्नपछि एउटा समाचार भाइरल भयो – कोशी ब्यारेजको ढोका नखोल्न भारतीयको दबाब । समाचारका श्रोत थिए सशस्त्र प्रहरी र जनपद प्रहरीका तल्लो ओहदाका अधिकारी । त्यसपछि सुरु भयो सामाजिक सञ्जालमा भारतको विरोध र नेपाली राष्ट्रवाद । 

यो क्रम यतिमै रोकिएन । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गयो । पानी परेसँगै कोशी ब्यारेजमा पानीको मात्रा स्वाभाविक रुपमा बढ्यो । राति कोशी ब्यारेजमा ३ लाख ७१ हजार क्यूसेक प्रतिसेकण्ड पानीको बहाब रहेको मापन भएको थियो । पानीको मात्रा बढ्दै गएको र ब्यारेजमा बालुवा र काठहरु थुप्रिँदै गएपछि ब्यारेजका सबै ढोकाहरु खोलिए । त्यसपछि फेरि सुरु भयो असली राष्ट्रवाद । 

सामाजिक सञ्जालमा के भनियो भने राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारलाई दबाब दिएपछि सबै ढोका खोलियो । अहिले समाजिक सञ्जाल यिनै भ्रमहरुको पछि कुदिरहेको छ । यी भ्रमहरुबाट कोशी कोरिडोरमा बस्नेहरुका लागि के हुनेछ भन्ने कुरा तर्फ भने कसैको ध्यान छैन । यस्ता भ्रमहरुले कोशी तटीय क्षेत्रको सुरक्षामा के प्रभाव पर्छ भन्ने पनि कसैलाई चासो छैन । भ्रम र हल्लाहरु थप्ने काम भइरहेको छ । 

यस्तो छ यथार्थ 

कोशी सम्झौता अनुसार ब्यारेजको रेखदेख र मर्मत सम्भार गर्ने सम्पूर्ण जिम्मा भारत सरकारको छ । यसमा पनि बिहार राज्यलाई विशेष जिम्मेवारी छ । सम्झौता अनुसार भारतमा सिँचाइ गर्ने प्रयोजनले बनाइएको कोशी ब्यारेजका ढोका खोल्ने र बन्द गर्ने सम्पूर्ण अधिकार विहार राज्यको जल संशोधन विभागको हातमा छ ।

विभागकै कर्मचारीले ढोका खोल्ने र बन्द गर्ने काम गर्छन् । नेपाली पक्षले त जल संशोधन विभागका कर्मचारीको सुरक्षा मात्रै गर्छ । नेपाली कर्मचारीको सुरक्षामा कोशी ब्यारेजमा मापन गरेर लेखिएको पानीको बहाबको मात्राको जानकारी भारतीय पक्षले नेपाल सरकारका माथिल्ला निकायलाई दिन्छन् । कोशी बाँधको मामिलामा नेपालले जानकारी राख्ने बाहेक अरु कुनै काम गर्दैन ।

अहिले भइरहेको पनि यति नै हो । नेपाली पक्षले बाध र पुलमा फालेका ढुंगा समेत यताबाट उता सारेका छैन । यस्तो अवस्थामा कोशी ब्यारेजको ढोका नखोल्न भारतीय पक्षले नेपाली पक्षलाई दबाब नै किन दिन पर्‍यो ? ब्यारेजमा भाँचिएको रेलिङ, उप्किएको कालोपत्रे पनि आफैं बनाउने हैसियत नराख्ने नेपाललाई भारतले बाँधका ढोका खोल्न र बन्द गर्न किन सोध्न पर्‍यो ?

कोशी सम्झौताका जानकार तथा जलविज्ञ अजय दीक्षित भन्नु हुन्छ, ढोका नखोल्न दवाव दिएको कुरा हाँस उठ्दो विषय मात्रै हो । ब्यारेजको ढोका नखोल्दा पानीले तटबन्ध नेपालतर्फ भत्काउँछ । जलबिज्ञ दीक्षितका अनुसार तटबन्ध भत्काएर यदि कोशी गाउँ पस्यो भने नेपालका केही क्षेत्रमा क्षति पुग्छ । त्योभन्दा बढी क्षति पुर्‍याउने त भारततर्फ नै हो ।

ब्यारेजका ढोका थुन्दैमा सप्तकोशी नदीको पानी चतराबाट उत्तर भोजपुरतिर जाने होइन । धरान र इटहरीतर्फ पनि पानी पक्कै बग्दैन । तटबन्ध भत्काएर कोशी बग्ने त विहारतिरै हो र कोशीले बगाउने पनि बिहारलाई नै हो ।  

कोशीको बाँध भत्केर बिहार धेरै र नेपाल केही डुुबेको दशक मात्रै पूरा भएको छ । २०६५ साल भदौ २ गते सप्तकोशी नदी कोशी पुलभन्दा १३ किलोमिटर उत्तर पश्चिम कुसाहामा तटबन्ध भत्काएर गाउँ पस्यो । त्यो बखत कोशीको बाढीबाट नेपालमा ५० हजार मानिस प्रभावित भएका थिए । भारतमा भने ३ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भए ।

त्यो बेला नेपालका तत्कालिन ४ गाउँ विकास समिति डुबानमा परेका थिए । तर कोशीले भारतका ३ जिल्ला डुबाएको थियो । कोशीको बाढीले नेपाललाई भन्दा भारतलाई नोक्सान गर्छ भन्ने यति जानकारी भारत सरकारलाई थाहा छैन भन्नु मुर्खता हो ।

रातो बत्तीको कथा  

सप्तकोशी नदीमा रहेको कोशी ब्यारेजमा पानीको मात्रा बढेसँगै रातो बत्ति बाल्ने गरिन्छ । एक लाख ५० हजार क्युसेक पानी ब्यारेजमा प्रति सेकेण्ड बग्न थालेपछि एउटा बत्ति बालिन्छ । २ लाख क्युसेक पुगेपछि अर्को र तीनलाख क्यूसेक पानी प्रति सेकेण्ड बग्न थालेपछि तेस्रो बत्ति बालिन्छ ।

बत्तिले सप्तकोशी नदीको जलस्तर मापन गर्छ । यो नियमित प्रकृया हो । सप्तकोशी नदीमा रहेको पानीको जलस्तर कुन अवस्थामा पुग्यो भनेर जनाउ दिन बत्ति बाल्ने गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदीमा पानी बढेर ब्यारेज बगाउन लागेको प्रतिकको रुपमा रातो बत्ती बालिएको होइन । सप्तकोशी नदीमा रहेको कोसी ब्यारेजमा नौ लाख क्यूसेक पानी प्रतिसकेण्ड बगेको रेकर्ड छ । २०७१ सालमा पनि सप्तकोशी नदीमा ३ लाख ४१ हजार ३ सय ९० क्यूसेक पानी प्रतिसेकेण्ड ब्यारेजबाट बगेको थियो ।

यदी कोशीमा पानीको मात्रा बढ्दैमा खतरा हुने हो भने २०६५ साल भदौ २ गते कोसीले पूर्वी तटबन्ध भत्काउने नै थिएन । त्यो बेला कोशीमा एक लाख ६५ हजार क्यूसेक पानी मात्रै प्रतिसेकेण्ड बगेको थियो । 

यसरी हुन्छ कोशीमा खतरा 

सप्तकोशी नदीमा पानीको मात्रा बढ्दैमा नेपाललाई खतरा हुने होइन । पानी आफ्नाे बाटोमा बग्यो भने तटीय क्षेत्रमा कुनै खतरा नहुने स्थानीयबासिन्दा बताउँछन् । हरेक साल स्परहरुमा नदीको पानी ठोकिन्छ । स्परमा नदीको पानी बर्खामा मात्रै नभएर हिउँदमा पनि ठोकिन्छ ।

जलविज्ञ अजय दीक्षितका अनुसार सप्तकोशी नदीमा पानीको मात्रा बढ्नु खतराको संकेत होइन । तटीय क्षेत्रमा बनाइएका स्परहरु कटान गर्नु र तटबन्धमा पानी ठोकिनु चाहिँ खतराको सूचक हो । कोशी ब्यारेजदेखि चतरासम्म सप्तकोशी नदीमा एक एक किलोमिटरको दूरीमा ५ सय मिटर लामो स्परहरु बनाइएका छन् ।

स्परका नोजहरुमा तार जाली लगाइएको छ । सिधा तटबन्धमा पानी नआओस भनेर स्पर बनाइएको हो । स्परहरु भत्काउन थालेमा स्पर मर्मत गर्ने काम भारतीय पक्षले गर्दै आएको छ । यदि समयमा स्परहरुको मर्मत नभएर स्परहरु भत्काए नदी तटबन्धमा आइपुग्छ । तटबन्ध बालुवा र माटोले बनाइएको छ ।

यदि स्परहरु भत्काएर तटबन्धमा नदी ठोक्किए खतरा हुने हो । ०६५ सालमा पनि २ वटा स्परहरु समयमा मर्मत नहुँदा स्पर भत्काएर कोशी तटबन्धमा आएको थियो । तटबन्धमा कोशी ठोक्किँदा समेत भारतीय पक्षले कटान रोक्न ढिला गर्दा ०६५ मा कोशी बाँध भत्काएर गाउँ पसेको हो ।

क्यूसेक र बत्ति आतंक 

कोशी तटीय क्षेत्रका स्थानीय बासिन्दा बर्खा लागेसँगै तनाबमा हुन्छन् । पानीको सतह बढेको र ब्यारेजमा रातो बत्ति बलेको समाचार सुनेपछि उनीहरु तटबन्धमा पुग्छन् । कोशी कता गइरहेको छ भनेर हेर्छन् । पानी परेसँगै तटीय क्षेत्रमा बस्नेहरुको दैनिकी यही हुन्छ ।

बराह क्षेत्र नगरपालिका वडानम्बर २ का वडाअध्यक्ष हरिकृष्ण भट्टराई भन्नुहुन्छ : पानी आफ्नै बाटोमा गइरहेको हुन्छ तर गाँउमा सन्त्रास भने फैलिसकेको हुन्छ । समाचार सुनेकै भरमा कतिले रातिनै बालबच्चा लिएर गाउँ छाडेको समेत उदाहरण धेरै छन् । उहाँका अनुसार अहिले नदीको खतराको बारेमा सूचना दिने संयन्त्र बलियो बनाइएको छ ।

ठाउँ ठाउँका स्परहरुमा राति पनि बस्न मिल्ने घर बनाइएको छ । ती घरमा बसेर भारतीय प्राविधिकहरुले २४ सै घण्टा पानीको बहावको निगारानी गर्ने गरेका छन् । स्थानीय बासिन्दा पनि पानी बढेपछि ती घरमा गएर बस्ने गरेका छन् । ०६५ सालपछि भारतीय पक्षले हिउँदमै स्परहरुको मर्मत सम्भार गर्ने गरेका छन् । यसले पनि कोशीले स्परहरु कटान गर्न नपाएको भट्टराईले बताउनुभयो । 

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले यस वर्ष अहिलेसम्म कोशीले स्परहरु कतै पनि कटान नगरेको बताउनुभयो । बराहक्षेत्र तटीय क्षेत्रको नगरपालिका हो । तर हल्लाका कारण भारतीय पक्षले काम नगर्ने पो हुन् कि भन्ने त्रास भएको खनालको धारणा छ ।

हामी सम्झौताका अनुसार केही पनि गर्न सक्दैनौँ । गर्ने सबै भारतीय भएकाले उनीहरुसँगको सम्बन्ध राम्रो भए मात्रै तटीय क्षेत्रमा सुरक्षा अवस्था बलियो हुन्छ । कोशी बाँध खोल्न नेपाललाई भारतले दबाब दियो भन्नु त आँखा नभएको मानिसले हात्ती छामछुम गरे जस्तो मात्र हो ।

अन्तिम अपडेट: मंसिर २३, २०७६

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

1 Comments

  • Achyut

    July 15, 2019, 4:05 p.m.

    That's true

  •  0 Reply

तपाईको प्रतिक्रिया