प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँको हिलो हट्यो

 असार ३१, २०७६ मंगलबार १७:४०:५८ | डीबी बिष्ट

बझाङ – तीन महिनाअघि छविसपाथीभेरा गाउँपालिका– १ गुरेलथुमका सुरेश बोहोरालाई अफिस जाने भनेपछि चिन्ता हुन थाल्थ्यो ।

अफिसको काम सम्झेर हैन, अफिस जाने बाटोको हिलो सम्झिएर । वर्षा लागेपछि समयमा उहाँको घर आँगनदेखि बाटो चौतारो सबैतिर हिलो नै हिलो हुन्थ्यो । हिलोकै कारण बाहिर हिँड्न गाह्रो थियो ।

तर अहिले बाटोको अवस्था फेरिएको छ । सँगै सुरेशको चिन्ता पनि सकिएको छ । स्थानीयका घर, आँगन र गोरेटो बाटो राम्रो भएको छ । ‘पहिले त अफिस जाँदा हातमा छाता, लौरो र झोलामा कपडा लिएर जानु पर्थ्यो, ज्यानमा लगाएको लुगामा हिलो लतरपतर भैहाल्ने, कति पटक त हाफ पाइन्ट लगाएर निस्कनु पर्ने, अफिस नजिक पुगेपछि झोलामा लगेको कपडा लगाउँथें, तर अहिले मेरो यो झन्झट सकिएको छ,’ सुरेश खुशी हुँदै भन्नुहुन्छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा बाटो पिच गरेपछि हिलोको समस्या पनि हटेको हो । कार्यक्रममार्फत गाउँपालिकाको वडा नम्वर १ मा छुट्याइएको पाँच लाख रुपैयाँबाट हिलो बाटो पिच गरेपछि स्थानीयको वर्षाका बेलाको समस्या पनि सकिएको छ ।

आएको बजेटमा स्थानीयले श्रमदान गर्दै बजेटबाट बालुवा, सिमेन्ट, गिट्टी किनेको वडाध्यक्ष नैनबहादुर बोहोराले बताउनुभयो । पानी परेको समयमा यहाँको माटो चिप्लो हुुने भएका कारण आवतजावतका क्रममा लडेर घाइते हुने जस्ता समस्या रहेको थियो ।

‘अहिले र पहिलेको तुलना गर्ने हो भने आकाश पातलकै फरक छ, घाँस, दाउरा, पानी पँधेरो जाँदा नलडेको दिन हुँदैन थियो’ वडाकी महिला स्वास्थ्य स्वयम्सेविका खिउटी धामीले भन्नुभयो, ‘पल्लो घरकी दिदीको त टाउको र खुट्टामा समेत चोट लागेको थियो, तर अहिले सबै बाटो पिच भएका छन्, यसले सहज भएको छ ।’

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया