यार्सा संकलक फर्किएपछि गाँउमा चहल पहल, बन्द विद्यालय पनि खुले

 असार ३१, २०७६ मंगलबार १८:३५:१७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - यार्सा संकलन गर्न लेक पुगेका बझाङ जिल्लाका स्थानीयहरु लेकबाट घर फर्कन थालेपछि गाँउमा चहल पहल बढ्नुका साथै बन्द भएका विद्यालयहरु समेत सञ्चालनमा आएका छन् । 

शैक्षिक सत्रको सुरुमा जिल्लाका उत्तरी भेगका विद्यार्थीहरु यार्सा टिप्न जाँदा बन्द भएका विद्यालयहरु अहिले सञ्चालन भएका हुन् । जिल्लाको तल्लो भेगका विद्यालयहरुले वर्षातका कारण बाढी पहिरोको समस्याले बर्खे बिदा हुँदा जिल्लाको  उत्तरी भेगका विद्यालयहरुमा भने पढाइ सुचारु भएको छ ।

बालबालिकाहरु यार्सा टिप्न जाँदा बन्द भएका माथिल्लो भेगका झण्डै ३ दर्जन विद्यालयको पढन पाठन सुरु भएको हो । सुर्मा गाउँपालिकाको दौलिचौर माविमा असारको दोस्रो साताबाट विद्यार्थीहरुलाई पुस्तकहरु वितरण गरेर पढाइ सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बहादुर बोहराले बताउनुभयो । 

कक्षा ३ देखि १२ सम्म पढ्ने अधिकांश विद्यार्थीहरु वैैशाखको पहिलो साताबाट यार्सा टिप्न जाने हँुदा शैक्षिक सत्रको सुरुमा पढाइ हुन नसकेको र अहिले सबै फिर्ता भएपछि विद्यालय सञ्चालन गरिएको बोहराले बताउनुभयो । 

विद्यार्थी यार्सा टिप्न जादा शैक्षिक सत्रको सुरुमा पढाइ नभएका विद्यालयहरुले बर्खे बिदा नगरी वैैशाख जेठ महिनाको पढाइलाई परिपूिर्त गर्ने गरेको शिक्षक अशोक बोहराले जानकारी दिनुभयो। 

यहाँका बुढापाका र बालबालिका सबै यार्सा टिप्ने कामलाई धेरै महत्व दिने हुँदा वैशाखदेखि असारको तेस्रो हप्तासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेम बहादुर बोहराले बताउनुहुन्छ । यो समयमा सुर्मा र साईपाल गाँउपालिकाका सबै विद्यालयहरु बन्द हुने गरेका छन् । 

यस्तै बुंगल नगरपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका र तल्कोट गाउँपालिकाका शैक्षिक संस्थाहरु पनि बन्द रहन्छन् ।

यार्सा संकलन गरेर सबै स्थानीयहरु फिर्ता भइसकेपछि साईपाल गाउँपालिका भित्र रहेका सबै विद्यालयहरु अहिले खुलेर पढाइ सञ्चालन भइसकेको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिनुभयो । यार्सा टिप्न हिमाली क्षेत्रमा बझाङ जिल्लाका हजारौ विद्यार्थी, शिक्षक र अन्य स्थानीय बासिन्दा यार्सा टिप्न गएका थिए ।

दौलिचोैर माविमा कक्षा सात पढ्ने रोशन बोहराले यस वर्ष एक सय पचासओटा यार्सा टिपेको बताउँदै अन्य विद्यार्थी साथीहरुले पनि आफ्ना अभिभावक भन्दा बढी यार्सा संकलन गर्न सफल भएको बताए  । 

यस वर्ष यार्सा संकलन गर्ने क्रममा सुर्मा गाँउपालिकाका २ जना, साईपाल गाँउपालिकामा १ र छबिसपाथीभेरा गाँउपालिकाका १ गरी ५ जनाको मृत्यु भयो ।

वार्षिक ३ क्विन्टल यार्सा संकलन हुने यस जिल्लामा गएको वर्ष यार्साको मूल्य नपाएका व्यापारीहरु यस वर्ष पनि मूल्य नपाइने चिन्तामा छन् । तर यार्सा खरिद गर्ने व्यापारीहरुले सर्वसाधारण यार्सा संकलकहरुबाट यार्सा खरिद गर्न भने सुरु गरिसकेका छन् । अहिले यार्सा खरिद गर्न स्थानीय व्यपारीसहित बाहिरका व्यापारीहरु समेत जिल्लामा आइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया