पक्की घरमा रात काट्ने सपना पूरा

 असार २७, २०७५ बुधबार ९:३२:४५ | दयाराम आचार्य

नवलपरासी – दुईवटा पक्की कोठा । टिनले छाएको घर । घरको पिंढीमा बसेकी जितकुमारी मुसहरको अनुहार खुसीले फुरुड्ग छ । केही समय अघिसम्म उहाँको घरमा निहुरिएर पस्नुपथ्र्यो । माटोले लिपेको र खरले छाएको घरमा पानी पर्दा भित्रै भल बग्थ्यो ।

न घरको ढोका थियो, न झ्यालै थियो ।  अहिले भने उहाँको घरको स्वरुप नै फेरिएको छ । प्लास्टर गरेका कोठा, झ्याल पनि छन् । घरको एक  छेउको छानोमा सोलारबत्ती जोडिएको छ ।

आर्थिक अवस्था निकै कमजोर रहेको उहाँलाई आफ्नो घरको स्वरुप यसरी फेरिएला भन्ने लागेकै थिएन ।

कावासोती नगरपालिकाले माझी मुसहर विपन्न आवास कार्यक्रम अन्तर्गत घर बनाएर हस्तारण गरेपछि उहाँको खुशीको सीमा नै छैन ।
‘पहिला खरको घर थियो, चुहिने थियो, सुत्न पनि पाईंदैन थियो, अहिले घर पाएपछि निकै खुशी छु’ जितकुमारीले भन्नुभयो, ‘अब त जति ठूलो पानी परे पनि राम्रोसँग निद्रा लाग्ने भो ।’

कावासोती नगरपालिका १५ मुसहर टोलमा फूलमती मुसहरको पनि घर छ । उहाँको घर पनि अहिले टिनले छाएको पक्की भएको छ । उहाँलाई यो जुनीमा यस्तो प्लास्टर गरेको घरमा बस्न पाइएला भन्ने लागेकै थिएन ।  

गाउँकै शुकदेव मुसहर पनि पक्की घर पाउँदा खुसी हुनुहुन्छ । ७ जनाको संख्या रहेको उहाँको परिवार पहिला एउटै कोठामा खाने, सुत्ने गर्दथ्यो । ‘अब त घर होयन, महल पाइयो’ खुशी हुँदै शुकदेवले भन्नुभयो ।

कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न समुदायको उत्थानका लागि माझी मुसहर विपन्न आवास कार्यक्रम संचालन गरी घर निर्माण गरी हस्तान्तरण गरेको हो । यस आर्थिक वर्षमा नगरपालिकाले कावसोती नगरपालिका १५ मा रहेको १० घर माझी मुसहरलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । नगरपालिकाको २० लाख रुपैयाको लागतमा १० वटा घर बनाएको हो ।  

घर हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले विपन्न विपन्न समुदायको उथ्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गरी हस्तान्तरण गरिएको बताउनु भयो । उहाँले पहिलो वर्षमा १० वटा घर बनेको भन्दै हरेक वर्ष माझी मुसहर विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनु भयो । प्रमुख पुनले  ५ वर्षभित्र यस समुदायका खरले छाएको घर विस्थापित गरी टिनले छाएको बनाउने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया