‘बुढा भएका बाआमालाई मिठाई होइन, हट वाटर ब्याग दिऔँ’

 भदौ १३, २०७६ शुक्रबार १८:३९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – आज कुशे औसीँ । मोति जयन्तीका साथै बाबुको मुख हेर्ने दिन पनि हो आजको दिन ।

कुशे औँसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुवाबाट आशीर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।

बुवा नहुनेले भने काठमाण्डौ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्रलगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।

आजका दिन मात्रै होइन, आफ्ना आमाबुवालाई आदर सम्मान र माया सधैँ गर्नुपर्छ । वरिष्ठ पत्रकार तथा साहित्यका र भैरव रिसाल भने आजको दिन बुढा भएका बुवाआमालाई मिठाईभन्दा पनि ‘हट वाटर ब्याग’ दिँदा राम्रो हुने सुझाव दिनुहुन्छ ।

शुक्रबार ललितपुरमा भीमप्रसाद गुरागाईंको संस्मरणात्मक कृति ‘ती दिनहरु’ विमोचन कार्यक्रममा मन्तव्यका क्रममा बुढाबुढी भएका बुवाआमालाई मिठाईभन्दा पनि ‘हट वाटर ब्याग’ दिँदा राम्रो हुने बताउनुभयो । रिसालले भन्नुभयो, ‘बुढाबुढी भएका बाआमालाई मिठाईभन्दा पनि हटवाटर ब्याग दिऔँ । हटवाटर ब्यागले न्यानो दिन्छ । जीउ बुढो भएसी तातो र न्यानो खोज्छ । त्यसैले बाआमालाई हटवाटर ब्याग तथा तातो कम्बल(बिजुलीले तात्ने कम्बल) दिँदा खुशी हुने रिसालले बताउनुभयो ।

८८ वर्षमा हिँड्दै गर्नु भएका गुरागाईंको कृतिमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार रिसालले पुस्तकले तत्कालीन समाजको कथा बोकेको बताउनुभयो । कुनै बेला कामको सिलसिलामा भोजपुर जाँदा आफूसँग भएको भेटको प्रसंग गुरागाईंले रोचक ढंगले प्रस्तुत गरेको रिसालले बताउनुभयो । आफूले पहिलो पटक गुरागाईंलाई भोजपुरमै भेटेको र त्यतिबेला भोजपुरमा सहअस्तित्व झल्किने जीवनशैली देखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भोजपुरमा त्यतिबेला बाहुनको बिहेमा राई महिलाहरु आएर दुना टपरी बुनेको देखेँ । त्यस्तो सहअस्तित्वपूर्ण जीवन देख्दा अत्यन्तै खुशी लाग्यो ।’ 

पुस्तकमा गुरागाईंले भैरव रिसाल भोजपुर जाँदा त्यहाँ तास खेलेर बसेका युवालाई झपारेको प्रसंग यसरी प्रस्तुत गर्नु भएको छ, ‘यसो कैत तालिम लिनु, बिजुली बत्ती बाल्नु ! काम गर्नेलाई योजना सरकारले पनि मिलाइदिन्छ, गाउँबाट अलिकति बल गरेपछि । यसरी बरालिएर हुन्छ ? तपाईँहरुको अझै पनि ज्ञान आएन ? अब त संसार अर्कै भैसक्यो है ! उनी कड्किएको सुनेर मेरो छेउमा बसेको बुढो राईले खासखुस गर्यो, ‘बुढो त तगडा पो रैछ हाउ !’

फरक प्रसंगमा वरिष्ठ पत्रकार रिसालले कतै हिँड्दा डायरीमा टिप्ने बानी गर्दा पछि आधिकारिकता पुष्टि हुने बताउनुभयो । 

त्यस्तै गुरागाईंलाई दोस्रो जीवन दिने न्यूरो सर्जन डाक्टर वसन्त पन्तले आफूहरुको जीवन कुनै फिल्मको अतिथि कलाकारको जस्तो भएको बताउनुभयो ।  कहिलेकाहीँ महत्वपूर्ण भूमिका निभाए पनि आफूहरु केही समयका लागि मात्रै आउने बताउनुभयो ।

२०५८ सालमा मोरङमा बस्दै आउनु भएका लेखक भीमप्रसाद गुरागाईंलाई मस्तिकश्राव भएपछि काठमाण्डौ मोडेल अस्पतालका डाक्टर वसन्त पन्तसहितको चिकित्सकको टिमले अपरेसन गरेको थियो । त्यसैले पनि गुरागाईंले आफूलाई डाक्टर पन्त र उहाँको टिमले दोस्रो जन्म दिएको लेख्नु भएको छ । 

डाक्टर पन्तले भीमप्रसाद गुरागाईं आफ्नै मनोबलका कारण निको भएको बताउनुभयो । बिरामी निको हुन डाक्टरहरुको भूमिका महत्वपूर्ण हुने भए पनि बिरामी आफै र परिवारको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उहाँले बताउनुभयो । उहाँले बिरामी र डाक्टरको सम्बन्ध केही समयको मात्रै हुने बताउनुभयो । कोही बिरामी उपचारपछि एक पटक पनि फलोअपका लागि नआउने बताउँदै उहाँले भन्नुभयो, ‘१७ वर्षसम्म पनि फलोअपका लागि बिरामी नआउने भनेको देश नेपाल नै होला ।’ डाक्टर पन्तले आफूहरु धेरै रात नसुतेर नै बिरामीको बारेमा नै सोध अनुसन्धान गर्ने गरेको बताउनुभयो ।

गुरागाईंको पुस्तक आउनु निकै नै सकारात्मक भएको बताउँदै बुवाआमाका अनुभवलाई बाहिर ल्याउन परिवारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।  डाक्टर पन्तले भीमप्रसाद गुरागाईंको अनुभवहरुलाई पुस्तकका रुपमा बाहिर ल्याएर गुरागाईं परिवारले सराहनायोग्य भएको बताउनुभयो ।

त्यस्तै पुस्तकका बारेमा बोल्दै डाक्टर सरोज धितालले गुरागाईंको पुस्तकले झण्डै ८० वर्षको नेपाली समाजको चित्रण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गुरागाईंको पुस्तकले त्यो बेलाको संस्कृति, अर्थतन्त्र, अर्थव्यवस्था, जीवन  तथा त्यसबेला भोग्नु परेको कठिनाइका बारेमा चित्रण गरेको छ ।’

डाक्टर धितालले गुरागाईंको पुस्तकमा सामान्य कुराहरु भए पनि मानवशास्त्र र समाजशास्त्रका विद्यार्र्थीलाई अत्यन्तै उपयोगी हुने बताउनुभयो । उहाँले यो पुस्तक विश्वविद्यालयकै पाठ्यक्रममा समेत समावेश गर्दा हुने खालको भएको बताउनुभयो । पुस्तकमा त्यसबेलाको वर्गव्यवस्था र शोषणका कुरा उल्लेख्य रुपमा नआएको उहाँले बताउनुभयो । तर त्यसबेला महिलाको अवस्था कस्तो थियो भन्ने कुराचाहिँ पुस्तकले राम्रोसँग चित्रण गरेको उहाँको टिप्पणी थियो ।

त्यस्तै ‘ती दिनहरु’ बारे बोल्दै आख्यानकार नारायण ढकालले यो पुस्तक तत्कालीन ४ नम्बरमा रहेका बाहुनको इतिहास भएको बताउनुभयो । पुस्तक प्रकाशित हुनुपूर्व नै आफूले पाण्डुलिपि पढेको बताउँदै कतिपय कुराले आफूलाई निकै तानेको उहाँले बताउनुभयो । आफूले केही सुझाव दिएको र त्यसपछि पुस्तक तयार भएको बताउनुभयो ।

पुस्तक निकै नै महत्वपूर्ण दस्तावेजका रुपमा रहेकाले यो कति बिक्री हुन्छ भन्ने भन्दा पनि यसको चर्चा परिचर्चा धेरै गर्नुपर्ने उहाँले बताउनुभयो ।

लेखक भीमप्रसाद गुरागाईंले छोराहरुको जोडबलले गर्दा आफूले पुराना कुरा सम्झँदै किताबको आकार दिएको बताउनुभयो । आफूले भोगेका कुरालाई किताबको आकार दिन छोराहरुले कर गरेपछि आफूले पुराना कुरा सम्झन थालेको उहाँले बताउनुभयो ।

भोजपुरका डाँडाकाँडामा उकाली ओराली गर्दा र आसामतिर बराँलिँदाका कुरालाई नै आफूले पुस्तकको रुप दिएको उहाँले बताउनुभयो । सबैको साथ र सहयोगमा पुस्तक तयार भएको उहाँले बताउनुभयो । डाक्टर वसन्त पन्त र डाक्टर सरोज धितालले आफूलाई दोस्रो जन्म दिएको उहाँले बताउनुभयो ।

त्यस्तै उज्यालो रेडियो नेटवर्कका प्रमुख कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले बुवाले भोगेका र देखेका कुराहरुलाई पुस्तकको आकार दिन सबैको सरसहयोगमा मात्रै सफल भएको बताउनुभयो ।

तत्कालीन अवस्थामा नेपाली समाज कस्तो थियो त भन्नेबारे बुवासँग सोधीखोजी गर्दैै जाँदा त्यसले पुस्तकको आकार लिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो पुस्तक बुवाको नाममा आए पनि यो बुवा र आमाको संयुक्त किताब हो । बुवाले भन्नुभएका कतिपय कुराहरूको तिथिमिति आमाले सच्याउनुहुन्थ्यो । हाम्रा समाज कसरी चलेको थियो भन्ने साना साना कुरा समेटेर यो किताब लेखिएको हो ।’

ललितपुरमा भएको एउटा कार्यक्रममा लेखक भीमप्रसाद गुुरागाईं, लेखककी धर्मपत्नी पुण्यवता गुरागाईं, आख्यानकार नारायण ढकाल, डाक्टर सरोज धिताल तथा आख्यानकार नारायण ढकालले संयुक्त रुपमा ‘ती दिनहरु’ को विमोचन गर्नु भएको थियो ।  ‘ती दिनहरु’ बुलबुल पब्लिकेशनले प्रकाशन गरेकाे हाे ।

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया