नेपालकाे विकासमा जापान प्रमुख साझेदार : राष्ट्रपति भण्डारी

 कात्तिक ४, २०७६ सोमबार १७:१८:२६ | रासस
unn.prixa.net

विशेष प्रतिनिधि श्याम रिमाल जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीको सम्मानमा साेमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दाे मित्रका रुपमा जापानले सघाएको उल्लेख गर्नुभयो । उहाँले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो ।

जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उहाँले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गर्नुभयो । राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परि ज्यान गुमाएका प्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा साेमबार नै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उहाँले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाण्डौ-नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पुर्‍याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

साठी हजार जापानीले नेपाल भ्रमण गर्ने

कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभयो ।

तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुनुहुन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान गराउने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुहुनेछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया