सुन्तला बेचेरै पाँचथरकाे कुरुम्बाका किसानले भित्र्याए दुई कराेड

 पुस २, २०७६ बुधबार १२:३५:५७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर –मिक्लाजुङ गाउपालिका ५ को कुरुम्बा क्षेत्र सुन्तला खेतीको लागि पकेट क्षेत्र हो । यहाँका किसानले यस वर्ष सुन्तला बेचेर मनग्य आम्दानी गरेका छन् ।

यस क्षेत्रका २ सय ५० घर किसानहरु सुन्तला खेतीमा व्यावसायिक बनेका छन् । तथ्याङ्कअनुसार यहाँ ५७ हेक्टर क्षेत्रफलमा सु्न्तलाको व्यावसायिक खेती गरिएको छ । 

२० रोपनी जमिनमा सुन्तला खेती गर्दै आउनु भएकी मिक्लाजुङ गाउँपालिका ५ कुरुम्बाकी इन्द्रकुमारी लावतीले यस वर्ष सुन्तला बेचेर सात लाख रुपैयाँ आम्दानी गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘२० रोपनी जमिनमा पाँच सय बोट सुन्तला खेती गरेको छु, यस वर्ष अघिल्ला वर्षको जति राम्रो फल लागेन, त्यसैले आम्दानी अलि कम भयो ।’

इन्द्रकुमारी जस्तै यहाँका धेरै किसानले सुन्तला बेचेर बर्सेनि लाखाैँको आम्दानी गर्दै आएका छन् । यस क्षेत्रमा सुन्तला खेती विस्तार पनि बर्सेनि बढ्दै गइरहेको छ । यस क्षेत्रमा सुन्तला कति उत्पादन हुन्छ ? र कति आम्दानी हुन्छ ? भन्ने यकिन तथ्याङ्क नभए पनि यहाँका किसानको आय आर्जनको मुख्य स्रोत सुन्तला खेती नै हो । 

सुन्तला बिक्री गरेर यहाँका किसानले यस वर्ष झण्डै दुई करोडको हाराहारीमा आम्दानी गरेको मिक्लाजुङ गाउँपालिका ५ का वडाध्यक्ष अविसान लावतीले बताउनु भयो । 

यहाँ उत्पादन हुने सुन्तला स्थानीय बजार रविसँगै तराईका बजारहरु बिर्तामोड, दमक र विराटनगरसम्म पुग्छ । 

सुन्तला खरिद गर्न बगानमै पुग्छन् व्यापारी

यहाँका किसानलाई सुन्तला बिक्रीको लागि कुनै दुःख छैन । सुन्तला खरिद गर्न व्यापारीहरु किसानको बगानमै पुग्छन् । आफ्नो बगानमा फलेको सुन्तला व्यापारी बगानमै आएर ७ लाखमा खरिद गरेर लगेको किसान तेजबहादुर लावतीले बताउनु भयो ।

यहाँ उत्पादन भएको ६० लाख मूल्य बराबरको सुन्तला यस वर्ष काठमाण्डौमा लगेर बेच्ने योजनामा रहेको स्थानीय व्यापारी देवराज लावतीले भन्नुभयो । ‘यहाँ उत्पादन हुने सुन्तला तराईका बजारसँगै काठमाण्डौ पनि माग बढ्दो रहेकोले यस वर्ष खरिद गरेका सुन्तला काठमाण्डौ लगेर बेच्ने योजना बताएको छु’, लावतीले भन्नुभयो । 

कुरुम्बामा उत्पादन हुने सुन्तलाको प्रवद्र्धनको लागि यहाँ गएको मंसिर २०, २१ र २२ गते सुन्तला महोत्सवसमेत आयोजना गरिएको थियो । यस क्षेत्रमा सुन्तला खेतीलाई टिकाइ राख्न र थप विस्तार गर्नका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया