धनुषा हत्या प्रकरण : 'निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचियो'

 पुस २७, २०७६ आइतबार ७:१:४३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – मिथिला नगरपालिकाकाे औरही खोलामा भइरहेकाे अवैध बालुवा, गिट्टी उत्खननकाे विराेध गर्ने युवा अभियन्ता 'ओमप्रकाश' भनिने दिलिपकुमार महतोको निर्ममतापूर्वक हत्या गरी घटनालाई दुर्घटनाकाे रुप दिन टिप्परले किचिएकाे प्रहरीले निष्कर्ष निकालेकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेकाे छ । पक्राउ पर्नेमा चुरियामाई बालुवा गिट्टी प्रशाेधन केन्द्रका सञ्चालक विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिप्पर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशन कुमार यादव रहेका छन् ।

शुक्रबार बिहान बालुवा उत्खनन भइरहेको छ भनि अभियन्ता दिलिपलाई उनको साथी रोशनमार्फत औरही खोलामा सुनियोजितरुपमा बोलाइ कुटपिट गरी हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन ना ७ ख ६४१३ नम्बरको टिप्परले किचिएकाे धनुषाका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयो, 'अवैध बालुवा, गिट्टी उत्खनन गर्न नदिन दिलिपले चलाएको अभियानले गर्दा क्रसर सञ्चालकलाई करोबार गर्न समस्या भइरहेको थियाे । त्यसकाे समाधानका लागि योजनाअनुसार रोशनमार्फत दिलिपलाई बिहानै ४ बजे खोलामा बाेलाएर आरोपितहरुले कुटपिट गरी सिकिस्त बनाएकाे, फलामको लिभरले दाहिने कोखामा घोचेर हत्या गरेकाे र घटनालाई दुर्घटनाको रुप दिन टिप्पर चलाइएको प्रारम्भिक अनुसन्धान देखिएको हो ।'

घटनापछि स्थानीयको सहयोगमा आफन्तजनले घटनाको दिन पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याससमेत प्रहार गरेकाे थियो ।

प्रहरीले बिना मुचुल्काको शव उठाएको भन्दै स्थानीय र आफन्त आक्राेशित भएका थिए । त्यसपछि प्रहरीले आरोपितहरु पक्राउ परिसकेको र उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता पश्चात पीडितहरुको जाहेरीपछि शनिबार बेलुका शवको पोष्टमार्टम भएको छ ।

पोष्टमार्टमपछि पीडित परिवारले शव बुझिसकेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया